जनता टाइम्स

७ श्रावण २०७८, बिहीबार १४:३४

माधव नेपालको घोषणा : अव एमालेमा बस्न सकिन्न


काठमाडौं, साउन ७ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब नेकपा एमालेमा बस्न नसकिने घोषणा गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसकै दिन एमालेमा १५ बर्ष एकछत्र शासन चलाउनु भएका नेपालले यस्तो घोषणा गर्नुभएको हो ।

पुष्पलाल स्मृतिको अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेपालले आफूलाई एमालेले अपमान गरेको भन्दै एमालेमा नबस्ने घोषणा गर्नुभयो । अपमान र कुकर्म सहेर अब एमाले (घर) मा बस्न नसकिने नेपालले उहाँको घनाई थियो । एमालेमा बस्न आफूहरु पर्ख र हेर स्थितिमा रहेको पनि उहाँले बताउनुभयो । ‘एमाले अघि बढ्छ कि बढ्दैन पर्खेका छौं, सुध्रिन्छ भने एकता भएर अघि बढ्छ, सोच्न सकिन्छ, एमाले हामीले बनाएका हौं, आफैंले बनाएको घरमा अरुको अपमान सहेर बसिँदैन, कुकर्म सहेर घरमा बस्नु पनि हुँदैन,’ पार्टीबिरुद्ध लागेर बिपक्षीलाई मतदान गर्नु नै सही कम्युनिष्ट आचरण रहेको भन्दै नेपालले भन्नुभयो ।

आफू पुष्पलालको स्कुलिङबाट अघि बढेको व्यक्ति भएको दाबी पनि माधवले गर्नुभयो । पुष्पलालपथमा अंगिकार गर्नेले कहिल्यै निरंकुशता नसहने भन्दै नेपालले अहिले एमालेमा निरंकुशता लाद्न खोजिएको आरोप लगाउनुभयो । अहिले देखिएका बाँदर र स्याल हुइँया जुलुसले आफूहरुलाई केही फरक नपर्ने माधवको भनाइ छ । ‘कहिले स्याल हुइयाँ, कहिले बराण्डमा उफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ, यस्तो प्रवृत्ति कम्युनिष्ट चरित्र होइन,’ नेपालले भन्नुभयो ।