जनता टाइम्स

९ श्रावण २०७८, शनिबार ०७:४०

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान



काठमाडौं , साउन ९ ।  । सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सागमा उनी चौंथो भएकी थिइन् । राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१।०, चौंथोमा १०४.१, पाँचौमा १०३.४ र छैटौं १००.७ अंक जोडिन् ।

तर, उनी फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् । छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् । कल्पना वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी कल्पनाले ओलम्पिकको छात्रवृत्तिमा ओलम्पिक तयारी गरेकी थिइन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् । अब चार खेलाडीको प्रतिस्पर्धा बाँकी रहेको छ ।