जनता टाइम्स

१० श्रावण २०७८, आईतवार १४:४३

एन्फा उपाध्यक्षको कारण देखाउँदै मुख्य प्रशिक्षक अलमुताइरीद्धारा राजीनामा दिने घोषणा


काठमाडौं, साउन १०

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिन लागेको जानकारी दिनुभएको हो । उहाँले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको पनि खुलाउनुभएको छ ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत चैतमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । एएफसी कोचिङ इन्स्ट्रक्टरसमेत रहनुभएको अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उहाँको नेतृत्वमा नेपालले कुवेतमा विश्वकप छनौटका ३ खेल खेलेको थियो ।

जसमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । तर, नेपाल जोर्डनसँग ३–० गोल र अष्ट्रेलियासँग पनि ३–० गोल अन्तरले नै पराजित भएको थियो । यस्तै नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो ।