जनता टाइम्स

१० श्रावण २०७८, आईतवार १५:०६

पार्टी बिभाजनको बिपक्षमा उभिए एमालेका निर्वाचित सांसद, कार्यदलसामू राखे माधवलाई ठेगान लगाउने प्रस्ताव


काठमाडौं, साउन १० । नेकपा एमालेका निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पार्टी बिवाद समाधानका लागि गठन भई विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अबिलम्ब कार्यान्वयनको माग गरेका छन । आज बिघटित १० सदस्यीय कार्यदलका सदस्यहरुसँगको छलफलपछि लिखित प्रस्ताव पारित गर्दै सांसदहरुले १० बुँदे सहमति कार्यान्वयनको नेतृत्व लिन आग्रह गरेका हुन ।

अध्यक्ष केपी ओली र माधव नेपाल दुवै समूहका सांसदहरूको सहभागिता रहेको छलफलको संयोजन ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले गर्नुभएको थियो भने मकवानपुरका सांस्द कृष्णप्रसाद दाहालले लिखित प्रस्ताव पेस गर्नुभएको हो । कार्यदलका दुवै पक्षका संयोजक भीम रावल र सुवास नेम्वाङले १० बुँदे सहमति गर्दाको मेहनत र यसले पार्टीलाई एक बनाउन गर्ने सहयोगबारे प्रष्ट जानकारी दिएपछि सांसदहरूको तर्फबाट कार्यदललाई धन्यवाद दिइएको छ ।

छलफलपछि पार्टी एकताको लागि पारित गरेको १० बुँदे प्रस्तावले एमालेका आन्तरिक समस्या समाधान गरी पार्टी एकता गर्न सकिन्छ भन्ने साझा बुझाइमा सांसदहरु पुगेका छन । सांसद दाहालका अनुसार सांसदहरूको भेलाले १० बुँदे सहमति अविलम्ब प्रभावकारी कार्यान्वयनका लागि सार्थम पहलकदमी लिन कार्यदलका सदस्यहरूलाई आग्रह गरिएको छ । सांसदहरुले माधव नेपाललाई ठेगान लगाउनका लागि १० बुँदे सहमति कार्यान्वयनको नेतृत्व लिन कार्यदलका नेतालाई सुझाव दिएका हुन ।