जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार १३:५०

नेपाल ओलम्पिक कमिटिका उप–महासचिव पिताम्बर जापान नजाने


काठमाडौं, साउन १२

नेपाल ओलम्पिक कमिटि (एनओसी) का उप(महासचिव पिताम्बर तिम्सिना टोकियो ओलम्पिक नजाने हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष समेत रहनुभएको उहाँले आज सामाजिक संजाल फेसबुकबाट टोकियो ओलम्पिकमा सहभागी नहुने जनाउनुभएको हो । सामाजिक संजाल फेसबुकमा विविध कारणले आफु टोकियो ओलम्पिकमा सहभागी हुन नसक्ने बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ,‘विविध कारणले टोकियो ओलम्पिकमा सहभागी हुन नसकेको कुरा जानकारी गराउन चाहन्छु ।’ नेपाल ओलम्पिक कमिटी (एनओसी)ले तिम्सिनालाई टोकियो ओलम्पिक जाने सूचीमा राखेको थियो । हाल अमेरिकामा रहेका तिम्सिना एथलेटिक्स खेलको व्यवस्थापकको रुपमा ओलम्पिक जाने तय थियो । तिम्सिना नजाने भएपछि एथलेटिक्स टिम व्यवस्थापक विहीन बनेको छ ।

टोकियो ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् । टोकियो ओलम्पिकमा पछिल्लो समय खेलाडी भन्दा पदाधिकारी धेरै सहभगी भएको भन्दै आलोचना भईरहेको छ । यस्तै यसअघि पनि राखेपका उपाध्यक्ष शिव कोईरालाले टोकियो ओलम्पिक जाने सूचीबाट आफ्नो नाम फिर्ता लिनुभएको थियो ।