जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार १०:१३

खालबाट रंगेहात समातिए माओवादीका दुई नेता


हुम्ला, साउन १४ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा श्रीनगर प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले बुधबार दुई वडाध्यक्षसहित १५ जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा नम्बर १ का अध्यक्ष रग थापा र वडा नम्बर ४ का अध्यक्ष विष्णु थापा हुनुहुन्छ । थापाद्वय नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय नेता हुन । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै अदानचुलीबाट यत्रो सङ्ख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो । नियमितरूपमा खेल्ने गरेको सूचनासँगै गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक (असइ) कृष्णबहादुर बुढाले जानकारी दिनुभयो ।

असई बुढाका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् । दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।