जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार ०८:५२

एमालेमा अव महिला यूथ फोर्स, अध्यक्ष ओलीको उपस्थितिमा यसरी गरिदैछ घोषणा


काठमाडौं, साउन १५ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले यूथ फोर्स गठन गरेको करिब दुई सातापछि महिलाहरुलाई संगठित गर्ने गरी महिला युथ फोर्स गठनको गृहकार्य अघि बढाएको छ । युवा संघले साउन २३ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममार्फत महिला युथ फोर्सको औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरेको हो ।

‘कानुन हातमा लिने होइन साथमा लिएर समाजमा रहेका विकृति विरुद्ध पहरेदारी गर्ने’ उद्धेश्य बोकेर यो फोर्स गठन गरिएको युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो । ‘समाजमा महिला धेरै प्रकारबाट पिडित छन् । उनीहरुले भोगेका धेरै कुरा बाहिर आउदैनन् । उनीहरु अन्याय सहेरै बस्न बाध्य छन्’ पौडेलले भन्नुभयो, ‘राजनीतिक खबरदारीका साथै अन्यायमा परेका महिलाहरुको सहयोगी बनेर महिला युथ फोर्स घरघरमा पुग्नेछ । ’महिला युथ फोर्सको संयोजक कसलाई बनाउने र कति सदस्यीय हुने भन्ने बिषयमा एक दुईदिन भित्र निर्णय हुने पौडेलले जानकारी दिनुभयो ।