जनता टाइम्स

१६ श्रावण २०७८, शनिबार १३:२१

सीमामा एसएसबीको अपराधबारे युवराज संग्रौला : नेपालले भारतसँग प्रस्ट जवाफ र क्षतिपूर्ति माग्नुपर्छ


काठमाडौं, साउन १६ । अन्तर्राष्ट्रिय कानुनका विज्ञ डा. युवराज संग्रौलाले एसएसवीले तुइन काटेर नेपालीलाई महाकालीमा बेपत्ता बनाएको घटनामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउनु भएको छ । उहाँले नेपालले भारतसँग प्रस्ट जवाफ र क्षतिपूर्ति माग्नुपर्ने धारणा पनि राख्नुभएको छ ।

शुक्रवार दिउसो तुइन तर्दै गरेका नेपाली युवा जयसिंह धामी एसएसबीले डोरी काटेपछि महाकालीमा बेपत्ता हुनुभएको छ । सो घटनाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको संग्रौलाको ठहर छ । ‘दार्चुलामा एसएसबीले जे गर्‍यो त्यो अन्तर्राष्ट्रिय सन्धि, अन्तर्राष्ट्रिय फौजदारी र मानवीय कानुनको उल्लंघन हो । एसएसबीको ठाडो दादागिरी हो । मान्छे तरिरहेका वेला तुइन काट्नेजस्तो अमानवीय काम गर्ने अनुमति भारतीय कानुनले पनि दिँदैन,’ संग्रौलाले भन्नुभयो । उहाँले यस घटनामा धेरै अन्तर्राष्ट्रिय कानुन र सन्धि आकर्षित हुने बताउनु भयो ।

यसमा धेरै अन्तर्राष्ट्रिय कानुन, सन्धि आकर्षित हुन्छन् । तुइनमा रहेको व्यक्ति अपराधी नै भए पनि संवाद गरेर माग्नुपर्छ । तर, नदीमा खसाउन पाइँदैन । नेपालले यस विषयमा भारतको स्पष्ट जवाफ र क्षतिपूर्ति माग्नुपर्छ । मागेन भने सरकार नागरिकको सुरक्षाप्रति जिम्मेवार भएको मानिँदैन

‘यसमा धेरै अन्तर्राष्ट्रिय कानुन, सन्धि आकर्षित हुन्छन् । तुइनमा रहेको व्यक्ति अपराधी नै भए पनि संवाद गरेर माग्नुपर्छ । तर, नदीमा खसाउन पाइँदैन । नेपालले यस विषयमा भारतको स्पष्ट जवाफ र क्षतिपूर्ति माग्नुपर्छ । मागेन भने सरकार नागरिकको सुरक्षाप्रति जिम्मेवार भएको मानिँदैन ,’ संग्रौलाको भनाई छ ।