काठमाडौं, साउन १६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘वरिष्ठ नेता’ माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिँदै एमालेमा कुनै ठाउँ नरहेको घोषणा गर्नुभएको छ । एमाले काठमाडौंको जिल्ला कमिटी बैठकमा आज बोल्दै अध्यक्ष ओलीले यस्तो घोषणा गर्नुभएको हो ।
‘माधव नेपालजस्ता आन्दोलनविरोधी, देशद्रोहीहरुलाई कुनै ठाँउ छैन यहाँ (एमालेमा),’ अध्यक्ष ओलीले भन्नुभयो, ‘वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिणपन्थीको समर्थनमा फ्लोर क्रस गरेर भोट हाल्ने, आफ्नै पार्टीको अध्यक्षले भोट माग्दा माग्दा २७ जना बाहिर लिएर सरकार ढाल्ने काम क्षम्य हुन्न ।’
अध्यक्ष ओलीले जनताको सरकार ढलेर माधव दक्षिणपन्थी कित्तामा लागेको पनि ठोकुवा गर्नुभयो । प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको उहाँको भनाई थियो । ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्याए । प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भन्दै उत्सव मनाउने काम गरे,’ ओलीले भन्नुभयो । उहाँले पार्टीको सरकार ढल्दा अग्रगमणको सपनामा धक्का लागेको बताउनु भयो ।

‘पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो, दक्षिणपन्थीको सरकार बन्यो, सुशासन र अग्रमणको सपनामा धक्का लाग्यो, यी सव काम माधवकै कारण भयो,’ अध्यक्ष ओलीले भन्नुभयो । सम्बोधनको क्रममा अध्यक्ष ओलीले माधव प्रबृत्ति एमाले जस्तो पार्टीमा स्वीकार्नै नसकिने पनि प्रष्ट पार्नुभयो । कोही नेता नरहँदैमा पार्टी कमजोर नहुने भन्दै उहाँले आउँदो चुनावमा एमालेकै बहुमत आउने बताउनु भयो । ‘कोहीकोही नरहन सक्छन तर जनताको साथ एमालेलाई नै छ, आगामी चुनावमा पनि हाम्रो पार्टीले नै बहुमत ल्याउँछ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्