काँकरभिट्टा, साउन १६। दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेप विरूद्ध नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले विरोध प्रदर्शन गरेको छ ।
शनिवार काँकरभिट्टामा नेपाल कम्युनिस्ट पार्टीले जयसिंह धामी हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हो ।नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको उक्त विरोध प्रदर्शन कार्यक्रम देवकोटा पार्क नजिकै बसपार्कबाट शुरू भएर भट्टराईचोक हुँदै बजार परिक्रमा गरेर हनुमान मन्दिर परिसरमा आएर कोणसभामा परिणत भएको थियो । विरोध र्यालीमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर, बैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाती एमसीसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियो।
पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूको नेतृत्व रहेको उक्त कार्यक्रममा जिल्ला तहका नेता तथा कार्यकर्ताहरू, जनवर्गीय संगठन र स्थानीयको समेत उपस्थिति रहेको थियो। कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सचिव प्रशान्त र कार्यालय सचिव एवम् अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज संजय राईले सम्बोधन गर्नुभएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला सचिव प्रशान्तले अव्यवस्थित राज्यसत्ता र संसदीय व्यवस्था कायम रहुन्जेल जनताले दुःख पाइरहने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो बैज्ञानिक समाजवादको बाटो रहेको बताउनुभयो । उहाँले भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा सह्य नहुने भन्दै सबै नेपाली जनताले यसको विरोध गर्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यालय सचिव सञ्जयले कुनै पनि हत्या हिंसा, भ्रष्टाचार, बेथिति, अन्याय, अत्याचार पार्टीलाई सह्य नहुने भन्दै यसका विरूद्व जहिले जहाँ र जुनसुकै परिस्थितिमा सशक्त संघर्ष र प्रतिकारमा उत्रने बताउनुभयो । उहाँले देशका नेताहरु विदेशीको गोटी बनेको भन्दै संसदीय व्यवस्था असफल भैसकेको र व्यवस्था परिवर्तनका लागि आफुहरू बलिदान गर्न तयार रहेको बताउनुभयो । भारतीय अतिक्रमण र दादागिरीका विरूद्व जस्तोसुकै संघर्ष गर्न तयार रहेको भन्दै उहाँले नेपालका नेता साम्राज्यवादी र पश्चिमाको कारिन्दा भएका कारण जनताले यो अवस्था भोग्नुपरेको उल्लेख गर्नुभयो । पार्टील १८ गते दमकमा पुनः प्रदर्शन गर्ने जानकारी दिएको छ । दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा तुइन तरिरहेका ३३ वर्षिय जयसिंह धामीलाई भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी)ले तुइन काटेर नदीमा खसालिदिएका थिए ।
ब्यास गाउँपालिकाबाट भारतको बाटो हुँदै दार्चुला जिल्ला सदरमुकाम खलंगा आइरहेका उनी पार गरिरहेका थिए । नेपाल तर्फबाट महाकाली नदीको आधा भागमा पुगेका जयसिंह एसएसबीले भारतपट्टि बाँधिएको तुइन (तार) काटिदिएपछि उनी नदीमा तारसँगै बेरिएर झरी बेपत्ता भएका हुन । घटना विवरणअनुसार शुक्रबार बिहान जयसिंह धामीसहित सोही ठाउँका बहादुरसिंह धामी, अमरसिंह धामी, मन्नाम धामी, अनिता धामी, कल्यान धामी र विक्रम रंकोली सहितका सातजना भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउन घरबाट हिँडेका थिए ।













प्रतिक्रिया दिनुहोस्