काठमाडौं, १७ साउन । नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृतसहित ६१ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिन्ह पाएका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभयो ।
सुशोभित हुनेहरुमा २०७८ साउन १४ को क्याबिनेट निर्णयअनुसार पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँयादेवी गुरूङ र सचिवस्तरको निर्णयअनुसार पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी तथा प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षक गरी जम्मा ६१ प्रहरी अधिकृत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन ऊर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिनुभएका छ ।
नयाँ जिम्मेवारीमा खटिँदा नियमित कामको साथै कोभिड–१९ को संक्रमणबाट आफू, परिवार र आम नागरिकलाई सुरक्षा प्रदान गर्न उद्दत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिको अवसरसम्म पुर्यााउनका लागि घर परिवारको महत्वपूर्ण योगदान रहेकोले परिवारमा अमूल्य खुसी साटफेर गर्नुपर्ने चर्चा गर्दै घर परिवारलाई समेत नेपाल प्रहरीको तर्फबाट वधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी नायव महानिरीक्षक सौरभ राणाले पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै पदोन्नतिले हर्ष र गौरव महसुस भएको र प्राप्त नयाँ जिम्मेवारीलाई थप उत्साह, इमान्दारिता र सुझबुझका साथ उत्कृष्ट रूपमा बहन गर्न आफूहरू प्रतिवद्ध रहेको बताउनुभायोे । उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।















प्रतिक्रिया दिनुहोस्