जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार २०:१९

कांग्रेस–माओवादीमा खडेरी लाग्दै : तरुण दल र वाइसिएल छाड्दै सयौं युवा एमालेमा प्रवेश (तस्विरहरू)


कास्की, साउन १७ । कांग्रेस–माओवादी पार्टी परित्याग गरी सयौं बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । सत्तारुढ गठबन्धनको यात्रा ओरालो गतिमा तिव्रताका साथ अगाडी बढेसँगै जिल्लाबाट पार्टी परित्याग गरी १ सय ५६ युवा नेता तथा कार्यकर्ता एमालेका प्रवेश गरेको नेकपा (एमाले) कास्कीले जनाएको छ । देशभर सत्तारुढ गठबन्धन छोड्नेको लर्को लाग्न थालेसँगै पोखरामा पनि नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नेको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको हो ।

यसअघि आजै विभिन्न पार्टी परित्याग गरि कपिलवस्तुमा ३ सय बढी नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिद्धारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा १ सय ५६ जना कांग्रेस, माओवादी निकट युवाहरु एमालेमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसको भातृ संगठन तरुणदल तथा माओवादीको भातृ संगठन वाइसिएल नेपाल परित्याग गरी उक्त युवाहरु एमालेमा प्रवेश गर्नुभएको नेकपा एमालेका युवा नेता तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले बताउनुभयो ।

सांसद पहारीले नवप्रवेशी युवाहरुलाई अविर र खादा लगाएर एमालेमा स्वागत गर्नुभएको थियो । उहाँका अनुसार पोखरा महानगरपालिका वडा नं. ५, ६, ७, १०, १२, १५ र ३२ वडाका युवाहरु रहेका छन् । उक्त पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद पहारीले नवप्रवेशीलाई योग्यता र क्षमताको आधारमा पार्टीले उचित जिम्मेवारी दिई मुलुकको विकास र समृद्धिको यात्रामा डोहोर्याउने बताउनुभयो ।