जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार ०९:१३

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, के के छन् एजेण्डा ?


काठमाडौं, साउन १८ । नेकपा एमालेको स्थायी कमिटि बैठक सोमबार पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक दिउँसो ३ बजे ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्ने बताइएको छ ।

यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै वडामा आउँदो असोज पहिलो हप्ता वडा र दोस्रो हप्तामा पालिका तहमा अधिवेशन गर्ने निर्णय गरेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग एकताका लागि प्रयास भइरहेको अवस्थामा ओलीले तल्ला तहहरुको अधिवेशन तत्कालै गर्ने एकपक्षीय निर्णय गरेको हो।

पार्टी विभाजन भएको अवस्थामा जति सक्यो कार्यकर्ता नेपाल पक्षमा जान नदिनका लागि ओलीले आकस्मिक रुपमा वडा र पालिका तहको अधिवेशन गर्ने निर्णय गर्नुभएको हो । यस्तै आइतबारको बैठकले भदौ अन्तिममा पार्टीको विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ। भदौ २७ र २८ गते काठमाडौँमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ। सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ। त्यस्तै सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको हो।

सोमबारको बैठकमा बाँकी विषयमा छलफल हुने छ । स्थायी कमिटिले गरेको निर्णय अर्को हप्ता बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ।