जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार २०:५४

२ सय आइसियू बेड थप्दा नै मेरो सरूवा हुन्छ भन्ने मलाई थाहा थियो : जागेश्वर गौतम


कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर गौतमलाई सोमबार थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरूवा गरेको हो। गौतमको ठाउँमा ट्रमा सेन्टरका डाक्टर रूद्र मरासिनीलाई पठाइएको छ।

गत जेठ १० डाक्टर गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो। डाक्टर गौतमले आफूलाई काठमाडौंका निजी अस्पतालका बिचौलिया र अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले सरूवा गरेको बताउनुभएको छ । वीर अस्पताललाई राम्रो बनाउन लाग्दा धेरैको आँखामा परेको उहाँले बताउनुभयो ।

वीर अस्पतालमा २ सय आइसियू बेड थप्दा नै मेरो सरूवा हुन्छ भन्ने मलाई थाहा थियो। किनकी काठमाडौंमा निजी मेडिकल चलाएर बसेकाहरू वीर अस्पताल राम्रो होस् भन्ने चाहँदैनन्,’ उहाँले भन्नुभयो । अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले पनि आफूलाई मन नपराएको उहाँको दावी छ । समयमा नआउने, गर्नुपर्ने काम नगर्नेहरूलाई मैले नियमित काममा आउनै पर्ने बनाएको । जागिरमात्र खाइरहेकाहरूलाई काम गर्नुपर्दा गाह्रो भएको थियो। बिचौलिया र तिनै अल्छीहरूको स्वार्थ मिल्यो अनि मेरो सरूवा भयो,’ डाक्टर गौतमले भन्नुभयो ।
गौतमलाई १४ महिनाअघि प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय सरूवा गरिएको थियो। मन्त्रालयमा उहाँले प्रवक्ताको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।

‘प्रसुति अस्पतालमा राम्रो काम गरेको भनेर मलाई मन्त्रालय लगिएको थियो। त्यहाँ पनि मैले राम्रो काम गरें। युनिफाइड अस्पताल चलाउनु पनि कठिन थियो। यसले सक्छ भनेर नै मलाई पठाइएको थियो। त्यहाँ पनि मैले राम्रो काम गरिरहेको थिएँ,’ डाक्टर गौतमले भन्नुभयो ,‘काम गर्दागर्दै सरूवा भयो। यहाँ काम नगर्नेले जागिर खाइरहन्छन्। काम गर्नेको सरूवा हुन्छ। यसमा मेरो भन्नु केही छैन।’उहाँले दुई महिना युनिफाइड अस्पतालमा आफूले गरेको कामको आफैंलाई मूल्यांकन गर्दा डिस्टिङ्सन आउने काम गरेको दावी गर्नुभयो । अब सरकारले मलाई प्रशासनिक काम नगर अपरेशन गर भनेर फेरि प्रसुति अस्पतालमा पठाएको छ,’ डाक्टर गौतमले भन्नुभयो ,‘म गाइनोको डाक्टर हो। अब दिदीबहिनीहरूको उपचार गर्छु।’