जनता टाइम्स

२० श्रावण २०७८, बुधबार १८:४६

हिम्मत छ भने ओली सरकारले बनाएको धरहरा र रानीपोखरी भत्काउ : भगवती न्यौपान


काठमाडौं , साउन २०। राष्ट्रिय सभा सदस्य भगवति न्यौपानेले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउनु भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी एमालेकी सांसद् भगवतिले लाल पूर्जा कुरेर बसेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई परमादेशको सरकारले आँसु दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बास बस्न एक टुक्रा जमिन र पेट पाल्न जमिन दिने सपना देख्यो, सोही अनुसार कार्ययोजना बनाएर अगाडि बढ्यो, केपी ओली नेतृत्वको सरकारले आयोग गठन गरेर भूमिहीनका सपना पूरा गर्ने चरणमा थियो तर परमादेशबाट बनेको सरकारले लालपूर्जा र मुस्कान दिनुको सट्टा आँसु उपहार दिएको छ म यसप्रति खेद प्रकट गर्छु ।’

भूमिहीन सुकुम्बासीलाई धैर्य गर्न आग्रह गर्दै भगवतिले भन्नुभयो–हामी मनमोहन अधिकारी र केपी ओलीका कार्यकर्ता हौं, त्यसैले हामी भौतिक रुपमा ढल्न तयार छौं, हामी चितामाथि जल्न तयार छौं तर भूमिहीनलाई जग्गा दिलाउनका लागि अनवरत रुपमा लडिरहनेछौं, तपाईंहरुको साथमा अनवरत रुपमा लागिरहनेछौं, यो विश्वास दिलाउन चाहान्छु ।हिम्मत भए केपी ओली सरकारले बनाएका संरचना र लोकप्रिय कार्यक्रम खारेज गरेर देखाउन पनि उहाँले चुनैताी दिनुभयो ।

भगवतिले भन्नुभयो, ‘हिम्मत छ ? हिजो ओली सरकारले गरेका सबै काम भत्काउ सरकार, म चुनौती दिन चाहान्छु, ओली सरकारले बनाएको धरहरा भत्काउ सरकार, रानीपोखरी भत्काउ सरकार ,ओली सरकारले हिजो देखेका सबै सपना खारेज गर सरकार,अन्तराष्ट्रिय रुपमा ओली सरकारले गरेका ए‍ेतिहासिक सम्झौता खारेज गर हिम्मत छ ?नेपाली जनताले देखेको केही सपना ओली सरकारले पूरा गरेको र केही पूरा हुने चरणमा रहेका भन्दै उहाँले ती पनि भत्काएर देखाउन चुनौती दिनुभयो । यो मुलुकलाई बदल्ने गेम चेन्जरका ठूला ठूला आयोजनाबाट मुलुक बदल्ने सपना नेपाली जनताले देखे, त्यही अनुसार ओली सरकारले थुप्रै आयोजना अगाडि बढायो, देशको मुहार फेर्ने सपना देख्यो, सुरुङमार्ग सुरु गर्‍यो भत्काउ सरकार, मदनभण्डारी र मध्यपहाडी हुलाकी मार्ग भत्काउ सरकार, अन्तराष्ट्रिय विमानस्थलहरु सम्पन्नताको चरणमा पुगेका छन् भत्काउ सरकार, ओलीले अगाडि सारेका आयोजना र सपना भत्काउ परमादेशी सरकारु( भगवतिले चुनौति दिँदै भन्नुभयो ।

ओली सरकारले गरेको सम्झौता अनुसार १ करोड ३१ लाख खोप सुनिश्चित गरेको भएको र सो खोप आउने क्रममा रहेको भन्दै उहाँले वर्तमान सरकारले त्यसलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो । कांग्रेका नेता र पहुँचवालाको घर घरमा लगेर खोप लगाइएको तर नेपाली जनतालाई दिनभर लाइनमा बस्दा पनि खोप नदिइएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । व्यङ्ग्य गर्दै भगवतिले भन्नुभयो –अझै के के गर्न सक्छौ गर, अझै गरिब र सर्वसाधारण जनतालाई सास्ती देउ ।