जनता टाइम्स

२४ श्रावण २०७८, आईतवार २०:३४

प्रहरी हिरासतमा रहेका तामाङको मृत्युबारे छाननिव गर्न बन्यो समिति


सिन्धुपाल्चोक, साउन २४ । प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ। प्रहरी हिरासतमा रहेका बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको घटना छानविनका लागि समिति बनेको हो ।

समितिमा दुई जना प्रहरी नायब उपरीक्षक र एक जना जिल्ला बार एशोसियसनका अध्यक्ष रहनुभएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनुभयो । पोखरेलले समितिमा पीडित पक्ष र पत्रकार समेतलाई राख्न लागिएको छ। तामाङको मृत्यु प्रहरीको कुटपिटबाट भएको भन्दै पीडित पक्षले आइतबार बाह्रबिसे बजारमा प्रदर्शन समेत गरेको थियो। उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए।

मृतक तामाङको शरीरमा चोटपटक देखिएको भन्दै पीडित पक्षले उनको कुटपिटबाटै मृत्यु भएको दाबी गरेका छन्। तर प्रहरीले उनीमाथि कुटपिट नभएको बताएका छन्। तामाङलाई गत शुक्रबार बिहान धुलिखेल अस्पताल लगिएको थियो। अस्पतालमा लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। तामाङलाई चोरीको मुद्दामा प्रहरीले साउन १८ गते नियन्त्रणमा लिएको थियो। उनीमाथि एक जनाको एक लाख, सहकारीमा फुटाएर ८१ हजार ७२५ रुपैयाँ चोरी गरेको आरोप थियो। तामाङको साउन २२ गते मृत्यु भएको थियो । उनको सरीरमा निलडाम देखिएपछि परिवारले कुटेर मारेको आरोप लगाएको हो ।