जनता टाइम्स

२ असार २०७६, सोमबार १५:११

गुठी बिद्येयक सच्याउन माधव नेपालको सक्रियता, काठमाडौंका सवै सांसदसँग संयुक्त बैठक


काठमाडौं, असार २

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले आज प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गर्नुभएको छ । पूर्वप्रधानमन्त्री तथा काठमाडौं–२ बाट निर्वाचित सांसदसमेत रहनुभएका बरिष्ठ नेता नेपालले आज दिउँसो १ बजेदेखि साढे २ बजेसम्म सिंहदबारस्थित कृषि समितिका हलमा गुठी बिद्येयकबारे काठमाडौंबाट निर्वाचित सांसदहरुसँग छलफल गर्नुभएको हो ।

नेता नेपालले आयोजना गर्नुभएको सो बैठकमा सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण विधेयकमा जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्न बरिष्ठ नेता नेपाललाई आग्रह गर्नुभएको छ । विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिने र सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै अघि बढाउनेमा सांसदहरुले जोड दिनुभएको छ ।

नेता नेपालले सांसदहरुको यही सुझाव प्रधानमन्त्री र पार्टीमा राखेर सवैलाई मान्य हुने गरी बिद्येयक अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिद्येयकको बिषयमा उपत्यकाबाट निर्वाचित संघीय संसद, प्रदेशसभा सदस्य र मेयर उपमेयरको बैठक बोलाउनु भएको छ । सो बैठक अघि नेता नेपालले सहजीकरण गर्दै काठमाडौंका सांसदहरुको बैठक आयोजना गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले गुठी विधेयकको बिषयमा परामर्श तीव्र बनाउनु भएको छ । बिद्येयकलाई लिएर बिरोध बढेपछि प्रधानमन्त्री ओली आफैले पहलकदमी लिएर बिद्येयकबारे परामर्शलाई तीब्र बनाउनु भएको हो । ९ दिने युरोप भ्रमण पूरा गरी हिजो स्वदेश फर्केलगत्तै उपत्यकाका नेवार समुदाय बिरोधमा उत्रिएपछि बिमानस्थलबाटै भुलवस केही गल्ती भएको भए सच्याउने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले निवास फर्केलगत्तैबाट बिद्येयकको बिषयमा परामर्श अघि बढाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले आज विहान भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालबाट बिद्येयकबारे ब्रिफिङ लिनुभएको छ । मन्त्रीसँगको छलफलपछि बिज्ञसँग धारणा बुझ्नुभएका प्रधानमन्त्री ओलीले आजै उपत्यकाबाट निर्वाचित सवै दलका संघीय सांसद, प्रदेश सांसद, मेयर र उपमेयरको बैठक आह्वान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाउनु भएको हो । बैठक सुरु हुनै लागेको छ । सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने धारणा राखेपछि प्रधानमन्त्री ओलीले सवै जनप्रतिनिधिको कुरा सुनेर आवश्यक निर्णय लिने योजना बनाउनु भएको हो ।

उपत्यकाका जनप्रतिनिधिहरुको सुझावपछि बिद्येयकबारे निर्णय हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । ‘उहाँले उपत्यकाका सवै सांसद र मेयर उपमेयरको बैडक बोलाउनु भएको छ, सवैको सुझाव सुनेपछि त्यसअनुसार नै निर्णय लिनुहुनेछ,’ प्रधानमन्त्री ओलीका सचिवालयका एक सदस्यले जनताटाइम्ससँग भने । उनका अनुसार प्रधानमन्त्री ओलीले गुठी बिद्येयकको बिषयलाई निकै गम्भीर रुपमा लिनुभएको छ ।