जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार १७:५९

सभामुखले फेरि दिए प्रचण्डको आदेशपालक नै रहेको प्रमाण


काठमाडौं, भदौं ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमालेले कार्वाही गरेको माधव नेपालसहित १४ सांसदमाथिको कार्वाही जसरी पनि रोक्न सभामुख अग्नि सापकोटालाई निर्देशन दिनुभएको पाइएको छ । एमालेबाट अलग भई बुधवार मात्रै नयाँ पार्टी गठन गर्नुभएका नेपालले नै आफू निकटसँग सभामुखलाई प्रचण्डले कार्वाही अघि नबढाउन निर्देशन दिइसकेको तथ्य खोल्नुभएको हो ।

माधव समुहका एक नेताले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारी अनुसार एमालेले सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गरेलगत्तै प्रचण्डले माधव समुहमाथिको कार्वाही जसरी पनि रोक्न सभामुख सापकोटालाई भन्नुभएको छ । जवाफमा सापकोटाले कानूनत नमिल्ने भएपनि कोशिष गर्ने र आफूलाई प्राप्त अधिकारको अधिकतम दुरुपयोग गर्ने प्रतिवद्धता जनाउनु भएको स्रोतले बतायो । ‘प्रचण्डले सभामुखलाई कार्वाही रोकेर राख्न भनिसक्नु भएको छ, सभामुखले त्यसैअनुसार गर्नै बताउनु भएको छ, अहिले हामी सत्तारुढ भएकाले एमालेले दवाव दिँदैमा तुरुन्तै भइहाल्छ भन्ने छैन, यसबीचमा सेटिङ पनि मिलाइने छ,’ आफू निकट नेतासँग माधवको भनाई उधृत गर्दै ती नेताले भने ।

एमालेले सरकारले दल बिभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेलगत्तै एमालेले माधवसहित १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गराएको थियो । अध्यादेश जारी हुनुअघि नै एमालेले कार्वाही गरेको पत्र दिएपनि सभामुख सापकोटा माओवादीको कार्यकर्ता बनेर सूचना टाँस नगरी रोकेर राख्नुभएको छ । संसद सचिवालयका महासचिवले बुधवार नै सभामुख सापकोटा समक्ष कार्वाहीको सूचना दिइसकेको छ ।

संसद अधिवेशन अन्त्य गरेर भोलिपल्टै दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले बिभाजन गराएको सत्तारुढ गठबन्धनले अव कानून मिचेर दलले कार्वाही गरेको सांसदलाई पदमै कायम राखिराख्न ठूलै बल गरिरहेको छ । तर सभामुखले १५ दिन भन्दा बढी समय रोकेर राख्न सक्ने ब्यवस्था छैन । सभामुख सापकोटा केही भइहाल्छ कि भनेर आफूले पाएको त्यही १५ दिनको समय रोकेर राख्ने प्रतिवद्धता प्रचण्डसामू गर्नुभएको हो ।