जनता टाइम्स

२ असार २०७६, सोमबार १९:०२

नेपाली आकाशमा घुम्न थाल्यो आफ्नै नानो स्याटालाइट


काठमाडौं ।

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली–स्याट–१’ अन्तरिक्षको परिक्रमा लगाउन सुरु गरेको छ । दुई महिनासम्म अन्तर्राष्ट्रिय स्पेश स्टेसन (आईएसएस)मा रहेको भू–उपग्रहलाई सोमबार अपरान्ह ४ बजे ‘स्पेश’मा ‘डिप्लोइमेन्ट’ गरिएको हो ।

नेपाल सहित श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह अन्तरक्षिमा सँगै छाडिएको छ । यो स्याटलाइट पृथ्वीको तल्लो अन्तरिक्ष कक्षलाई परिक्रमा गरिरहेको छ । स्याटलाइटलाई ४२० किलोमिटरको रेन्जमा डिप्लोइमेन्ट गरिएको हो। भूउपग्रहले आईएसएससँगै परिक्रमा गरिरहने उनले जानकारी दिए। स्याटलाइट जुन देशको नजिक पर्छ त्यही रहेको ग्राउण्ड स्टेसनसँग सञ्चार गर्ने छ ।

नेपालमा दैनिक ४ पटकसम्म देखिने यो स्याटलाइटले नेपाली आकाशमा ४० मिनेट बिताउनेछ। ग्राउण्ड स्टेसनबाट हरेक पटकको डाटा लिने र कमान्ड दिन सकिन्छ । स्याटलाइटले लोअर अर्बिट परिक्रमा गर्न ९० मिनेट लगाउनेछ भने सूर्यको प्रकाशमा ६० मिनेट र बाँकी समय अँध्यारो र चिसो क्षेत्रमा रहनेछ।

यो भूउपग्रह ठुलो नभएर नानो भू–उपग्रह हो। यो १यू–क्यूब–स्याट (लम्बाई,चौडाइ र उचाइ १०\१० सेन्टिमिटर भएको) नानो स्याटलाइट हो। अहिले स्याटलाइटले तस्बिर लिन सक्ने नाष्टले जनाएको छ। अन्तरिक्षमा चुम्बकीय शक्तिको अध्ययन गर्न र रिमोट सेन्सिङ र अन्य सामन्य किसिमका काम मात्र गर्न सकिनेछ।