जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार १०:५७

नेपालले सरकारमा जान हतार भएकै कारण पार्टी फुटाए : सापकोटा


पोखरा, भदौ १० । माधव नेपाल पक्षका गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा पनि अध्यक्ष ओली नेतृत्वको एमालेमै रहने भएका छन् । नेपाल पक्षका स्थायी कमिटी सदस्यसहित मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै सापकोटाले पार्टी विभाजनको पक्षमा नलाग्ने बताउनुभयो ।

‘हामीले विगत लामो समयदेखि खराब प्रवृत्ति विरुद्ध लड्यौं, पहिलो कार्यकर्ता भेलाले नै न विभाजन, न समर्पण भनेका थियौं,’ सापकोटाले भन्नुभयो , ‘हामीले चाहेको विभाजन होइन, पार्टीभित्रै संघर्ष गर्ने हो ।’ माधव नेपालले पार्टी विभाजन गर्न हतार गरेको सापकोटोले टिप्पणी गर्नुभयो । नेपाललाई सरकारका जान हतार भएकै कारण पार्टी फुटाएको उहाँले बताउनुभयो । विगतमा पार्टीभित्र बसेर अन्तरसंघर्ष गर्ने अवस्था नरहेको भन्दै उनले १० बुँदे सहमति कार्यान्वयनसँगै त्यो अवस्था आएको बताउनुभयो । ‘पार्टीभित्र फरक मत दर्ज गरेर बेठीकलाई बेठीक नै भन्छौं,’ उहाँले भन्नुभयो , ‘पार्टीभित्रै लडेर अगाडी बढ्न चाहन्छौं ।’

अन्य सिद्धान्तनै नमिल्ने पार्टीको अगाडी सरकारमै जान लम्पसार हुँदैनौ । एउटै उदेश्य र लक्ष्य बोकेको धेरै कम्युनिष्ट पार्टी आवश्यक नरहेको भन्दै उहाँले भाविश्यमा पनि पार्टी एकता हुन सक्ने बताउनुभयो । ‘माओवादीको उदेश्य समाजवाद राखेका छन्, कार्यनीति चुनाव छ, जुन पहिलेदेखि नै एमालेले बोकेको लक्ष्य र कार्यदिशा हो,’ उहाँले भन्नुभयो । केपी ओली र माधव नेपालकै सहमतिमा एकता गर्न कार्यदल बनेको र कार्यदलले बनाएको १० बुँदे समझदारी पनि दुबै नेताको सहमतिमा भएको उहाँले दाबी गर्नुभयो ‘माधव नेपालको सहमति बिना भीम रावलले एउटा कमा र पूर्णबिराममा पनि हस्ताक्षर गर्नुभएको छैन,’ उहाँले भन्नुभयो , ‘दुबै नेताको समझदारी थियो, माधव कमरेड समझदारी अनुसार अघि बढ्नुभएन ।’

नेकपा एकिकृत समाजवादी पार्टी बनाएका माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्डवीच पार्टी एकता हुने कुरालाई भने उहाँले शुभकामना दिनुभयो । ‘माधव र प्रचण्ड मिलेर राम्रो पार्टी बनाउनुभयो भने शुभकामना छ, राम्रो भयो भने फेरी एकता गरेर जाउँला नि,’ उहाँले भन्नुभयो । एउटा सन्दर्भमासँगै बस्न नसकेपनि भविश्यमा एकता हुन सक्ने दावी समेत गर्नुभयो । पार्टीभित्रका अंक गणित पनि स्थायी नहुने उहाँको भनाई छ । एमालेको छैठौं महाधिवेशनमा माधव नेपाल र केपी ओली एउटै कित्तामा रहेको भन्दै उनले त्यतिबेला वामदेव गौतम पार्टी फुटाउने अभियानमा लाागेको बताउनुभयो ।

एमाले बागलुङका अध्यक्ष समेत रहेका सापकोटाले पार्टीका बैठकहरुमा जमेर कुरा राख्ने बताउनुभयो । नेताले भनेका कुरा जस्ताको तस्तै ठिक हो भन्दा एमाले ठिक हुन नसक्ने बताउँदै उहाँले विगतमा माधव नेपालले उठाएको आवाज अब भीम रावलले उठाउने दावी गर्नुभयो । यता,एमालेको समानान्तर संगठन कास्कीका अध्यक्ष धनराज आचार्यले आज औपचारिक रुपले समानान्तर संगठन विघटन हुने बताउनुभयो ।