जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार ०९:२८

नेतृत्व हस्तान्तरण गर्न आतुर माधव नेपाललाई भट्टराईको सुझाव : आफैंसँग भएकालाई अध्यक्ष दिएर उदाहरण देखाए हुन्छ


काठमाडौ, भदौ १३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नैलाई अध्यक्ष बनाएर उदाहरण देखाउन भन्दै कटाक्ष गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफुलाई साथ नदिएर हिडेका दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार गरेको बताएपछि भट्टराईले कडा टिप्पणी गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ,’राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’ शनिवार पेशागत महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको घोषणा गर्नुभएको थियो । आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु ।

आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै विदा भईहाल्छु, भएन ? पदको लडाई होईन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’ नेपालको यो अभिब्यक्ति पछि नेता भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।