जनता टाइम्स

१५ भाद्र २०७८, मंगलवार ०८:५२

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, आजै मन्त्रालयको भागबन्डा


काठमाडौं, १५ भदौ । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार अहिले केहीबेरमा ९ बजे शीर्ष नेताको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ । आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ ।’ एमाले विभाजन पश्चात नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् ।

‘माधवजीलाई अफ्ठेरो अवस्था छ । यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ । माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,’ उहाँले भन्नुभयो,‘यो हाम्रो नैतिक जिम्मेवारी हो । सहकार्यको वातावरण बनाउँदैछौं । उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं ।’ यसअघि हिजो माओवादी केन्द्रको बैठक बसेको थियो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराउनुभएको थियो ।