जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार १७:५२

लागूऔषधसहित दुई भारतीय पक्राउ


सर्लाही, १८ भदौ । सर्लाही मलंगवास्थित नेपाल–भारत सीमानाकाबाट अवैध लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्ससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी सहिदपुर ग्रामचौक–२, बस्ने ३२ वर्षीय नेता शर्मा र सोही स्थानका ६३ वर्षीय सुरेन्द्र शर्मा रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट १०० एमएलको ९४ बोटल लागूऔषध वीनरिक्स बरामद् गरेको हो । सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका प्रमुख एसपी गंगाराम श्रेष्ठका अनुसार ग्यास सिलिन्डरमा प्वाल पारेर त्यसभित्र लुकाइछिपाई लागूऔषध बोकेर नेपाल आउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

शंका लागेर उनीहरूले टाउँकोमा बोकेको ५÷५ लिटर क्षमताको ग्यास सिलिण्डर चेक जाँच गर्ने क्रममा सिलिण्डरबाट उक्त परिणाममा लागूऔषध बरामद भएको प्रहरीको भनाई छ । उनीहरूले ग्यास सिलिन्डरको पिधमा प्वाल पारेर सिलिण्डर भित्र राखेर लागूऔषध ओसार पसार गर्ने गरेको प्रहरीको आशंका छ । उनीहरूमाथी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा बुझाइएको एसपी श्रेष्ठले बताउनुभयो ।