जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १३:४२

सभापति बन्नेको चर्चा : अछाममा २२ वर्षीया युवतीदेखि ८० वर्षीय वृद्ध


कल्पना बोहरा / अछाम, २० भदौ । नेपाली कांग्रेस अछामले वडाका सभापतिको टुंगो लगाएको छ । १४औं वडा अधिवेशनले सर्वसम्मत रुपमा वडा सभापतिको टुंगो लगाएसँगै कम र बढी उमेरमा वडा सभापति बन्नेको चर्चा भइरहेको छ । अछाममा २२ वर्षीया महिला र ८० वर्षीय वृद्ध वडा सभापति निर्वाचित भएका छन् ।

शनिबार मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाकी २२ वर्षीया जानकी रावल वडा सभापतिमा निर्वाचित भइन् । त्यसलगत्तै चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत वडा सभापति चयन भए । पार्टीले ८० वर्षीय बृद्ध कुँवरलाई सभापतिमा सर्वसम्मत चयन गरेपछि स्थानीय युवा भने असन्तुष्ट छन् ।

कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै जिल्लामा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, महासमिति सदस्य युवा नेता राजन कुँवर, गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम सभापतिमा चर्चामा छ। न्युज कारखाना