काठमाडौं, २१ भदौ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महेश बस्नेत टाउको दुखाई बनेको भन्दै उनले कांग्रेस धेरै ठाउँमा हार्ने बताउनुभयो । उहाँले च्याखे थाप्नेहरु नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा (एकीकृत समाजवादी) हालत के होला भनेर प्रश्न गर्नुभयो । ‘प्रधानमन्त्रीको टाउको दुखाइ महेश बस्नेत रहेछ ।
भक्तपुर आएर हराउँछु भन्नुभएछ,’ बस्नेतले भन्नुभयो,‘आगामी निर्वाचनमा नेपाली कांग्रेस धेरै ठाउँमा हार्ने छ । पछिल्लो गतिविधिले अझै हार्नेछ । अझ माओवादी र एसको हालत के होला ? च्याखे थाप्नेहरुको चर्चा हुँदैन ।’ केही दिनअघि प्रधानमन्त्री देउवाले भक्तपुरमा वडा अधिवेशनको उद्घाटन गर्ने क्रममा दुर्लभ थापालाई हराउन बस्नेतलाई चुनौती दिनुभएको थियो । युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले अहिलेको सरकार काम गर्ने भन्दा पनि हल्ला गर्नेमात्रै भएको बताउनुभयो ।
‘काम नगर्ने हल्लामात्रै गर्ने सरकार पाएका छौं । केपी ओली प्रधानमन्त्री हुँदा दिनदिनै शिलान्यास, उद्घाटन हुन्थे । कामहहरु हुन्थे । शिलान्यासै शिलान्यास, उद्घाटन नै उद्घाटन, विकासै विकास, समृद्धि नै समृद्धि थियो,’ बस्नेतले थप्नुभयो,‘५५ दिनमा देउवाले दुइटामात्रै उदघाटन गर्नुभयो । एउटा ओली सरकारले बनाइदिएको बंगलामुखी मन्दिरको उदघाटन गरे । दोस्रो एमालेसँग हारेको मेरै निर्वाचन क्षेत्रको वडा अधिवेशनको उद्घाटन गर्न जानुभयो ।’
बस्नेतले कुकुरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको र दुइतिहाइको पार्टी फुटाएको आरोप लगाउनुभयो । त्यस्तै उहाँले सभामुख अग्नि सापकोटालाई पनि पदीय मर्यादामा बस्न चेतावनी दिनुभयो । ‘सभामुख बनेपछि पार्टीबाट निस्किनुपर्छ । प्रचण्डको गुलाम बनेर कार्यकर्ता बनेर हिँडे तपाईसँग प्रत्यक्ष भेटघाट हुनेछ । त्यो बेला सदनमा प्रतिपक्षी देखिनेछ,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्