जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार २२:२०

एमसीसीविरुद्ध पोखरामा प्रदर्शन


पोखरा, २१ भदौ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध पोखरामा प्रदर्शन थालिएको छ । नागरिक समाज पोखरासहित विभिन्न संघसंस्थाले आजदेखि जिल्ला प्रशासन कार्यालयअघि धर्ना सुरु गरेका हुन् । एमसीसी खारेज नहुँदासम्म संघर्षका कार्यक्रम निरन्तर गर्ने समाजले जनाएको छ । आज बिहान १० देखि ११ बजेसम्म शान्तिपूर्ण धर्ना बसेका हुन् ।

संयुक्त देशभक्त मोर्चालाई अघि सारेर राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सिटिजन जुरी कास्की, नागरिक समाज कास्कीलगायतका संघसंस्थाको संयुक्त आयोजनामा प्रदर्शन भएको हो । राष्ट्रहितविपरीत एमसीसी संसदबाट पारित गर्न लागिएको भन्दै त्यसलाई रोक्न आन्दोलित भएको नागरिक समाजका नेता रामबहादुर पौडेलले बताउनुभयो ।

‘अमेरिकाले नेपालको भूमि प्रयोग गरेर चीनमाथि हमला गर्न खाजेको हो । त्यो कदापि हुन सक्दैन । सचेत नागरिकले त्यस्तो प्रपन्च रोक्नुपर्छ’, उहाँले भन्नुभयो,‘यदि एमसीसी कार्यान्वयन गर्ने हो भने नेपालको कानुनको अधीनमा हुनुपर्छ । संविधानभन्दा माथि राखेर कुनै पनि देशको स्वार्थमा सार्वभौमसत्ता बेच्न पाइँदैन ।’

मौन धर्नामा एमसीसीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड देखाइएको थियो । नेपाल सरकार र अमेरिकाबीच भएको एमसीसी सम्झौता खारेज हुनुपर्ने उनीहरूको माग छ । प्रदर्शनकारीहरूले एमसीसीलाई महाकालीभन्दा खतरनाक सम्झौताको रूपमा व्याख्या गरेका छन् । मुस्ताङमा भएको युरेनियम र अन्य महत्त्वपूर्ण खानीमा अमेरिकाले आँखा गाडेको उहाँले आरोप लगाउनुभयो ।

अर्का अगुवा विष्णुहरि अधिकारीले एमसीसी देशको हितमा कदापि नभएको बताउनुभयो । ‘नागरिक स्तरबाट यति धेरै विरोध हुँदा पनि अमेरिकाले अनुदान किन दिन खोजिरहेको छ ? यो स्पष्ट छैन र ?’, उहाँले भन्नुभयो, ‘अमेरिकाको ठूलो स्वार्थ छ । नेपालका नेताहरू त्यसमा भुलेका छन् ।’ एमसीसीको सट्टा राजस्वको बक्यौता र बेरुजु उठाएर विकासमा लगाउन उनीहरूले सरकारलाई सुझाव दिनुभयो ।