जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार १८:४२

सिन्धुपाल्चोकमा एक ढिक्का एमाले : जिल्लाभरबाट दुईजनामात्र माधव पक्षमा



सिन्धुपाल्चोक, भदौ २२ । विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज सकिएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टी(.लोसपा) निर्वाचन आयोगमा दर्ता भएका थिए। यससँगै विभाजित दलमा जान चाहनेहरुका लागि २१ दिनको समय उपलब्ध गराइएको थियो, जसको समय आज सकिँएको हो । आजसम्ममा दल परिवर्तन गर्ने जनप्रतिनिधिको पद गुम्ने छैन। आयोगले दल रोज्न दिएको अन्तिम समयसम्म सिन्धुपाल्चोकबाट नेकपा एसको पक्षमा दुईजना मात्रै जनप्रतिनिधि उभिएका छन् ।

आयोगले दिएको यो समयभित्र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये दुईजनाले मात्रै नेकपा एसको पक्षमा सनाखत गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल र चौतारा साँगाचोकगढी नगरपालिका–१० का वडा अध्यक्ष बेलबहादुर महतले मात्रै नेकपा एसको पक्षमा सनाखत गराएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका विदुर रायमाझीले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये नेकपा एमालेले दुई नगरपालिका र पाँच गाउँपालिकामा प्रमुख–उपप्रमुखसहित ४७ वडामा एमाले उम्मेदवारहरु विजयी हुनुभएको थियो ।

१०३ वडामा एमालेले ४७ वडा अध्यक्षसहित सदस्यहरु जितेको थियो । जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ र उपप्रमुख बालकुमारी सापकोटासहित सबै सदस्यहरु एमालेमा नै रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई नेकपा एसमा सनाखत गरिदिन आग्रह गर्दै नेकपा एसका अध्यक्ष माधव नेपाललगायतका नेताहरुले फोन गरेपनि जिल्ला तहबाट केन्द्रमा प्रतिनिधित्व गरेका सबै नेताहरु एमालेमा नै रहेपछि आफूहरु एमालेमा नै बसेको एक जनप्रतिनिधिले बताउनुभयो । निर्वाचन आयोगमा पुगेर राष्ट्रियसभाका सदस्य सिंहबहादुर विकले सुरुमा नै नेकपा एसको पक्षमा सनाखत गराउनुभएको छ । राष्ट्रियसभा सांसद विकले आफ्नो क्षेत्रका एमालेका जनप्रतिनिधिहरुलाई नेकपा एसमा लाग्न आग्रह गरेपनि कसैले टेरेनन् । ‘मलाई अर्कोपटक वडा अध्यक्षको टिकट दिलाइदिन्छु भनेर माननीय ज्युले फोन गर्नु भएको थियो, आफैं त वडा सदस्यमा पराजित मान्छे, चिठा परेर सासंद भएका छन्’ लिसंखुपाखरका एक वडा सदस्यले भन्नुभयो , ‘एमाले छाडेर कतै जादिनँ ।’

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय नेताद्वय अरुण नेपाल र शेरबहादुर तामाङको गृह जिल्लामा एमाले विभाजनको असर न्यून छ । क्षेत्रगत रुपमा प्रतिनिधिसभा–१ मा एक, राष्ट्रियसभाका सांसद र एक वडा अध्यक्ष मात्रै नेकपा एसमा लाग्नुभएको छ । त्यस्तै प्रतिनिधि सभा–२ मा वागमती प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ र मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले मात्रै एसको पक्षमा सनाखत गराउनुभएको छ । नेकपा एमालेबाट चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरका प्रत्यासी सोम सापकोटाबाहेक जिल्लास्तरका कोही पनि नेता नेकपा एसमा लाग्नुभएको छैन ।