जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार २२:१६

प्रदीप र गोकर्णको जिल्लामा कसैले रोजेनन् समाजवादी


गुल्मी, २२ भदौ । गुल्मीमा नेकपा एमालेका दुई प्रभावशाली नेता प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट छन् । केन्द्रमा पार्टी फुटको असर गुल्मीका कतिको पर्ला भनेर आमकार्यकर्ताले निकै चासो राखेका छन् । तर, जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार कुनै जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी०मा सनाखत गरेनन् । मंगलबार ५ बजेसम्म जनप्रतिनिधिले सनाखत गर्ने अन्तिम समय रहेको थियो । गुल्मीमा समन्वय प्रमुख लक्ष्मण पराजुली र उपप्रमुख तुल्सीदेवी श्रेष्ठसहित सबै सदस्य एमालेमै छन् ।

निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी श्याम पाण्डेयका अनुसार जिल्लामा दुईवटा नगरपालिका र १० वटा गाउँपालिका छन्, जसमा सात पालिका प्रमुख र नौ उपप्रमुख एमालेका छन् । रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल र उपप्रमुख सीता भण्डारीसहित वडा अध्यक्ष र सदस्य गरेर २७ जना एमालेबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् । मुसिकोट नगरपालिकामा प्रमुख सोमनाथ सापकोट र उपप्रमुख कमला शर्मा दुवै एमाले हुन् । उनीहरूसहित ४२ जना जनप्रतिनिधि नेकपा एमालेबाट विजयी भएका थिए । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख बिमला खत्री एमालेका हुन् ।

बिष्ट र खत्रीसहित २७ जना एमालेबाट विजयी भएका थिए ।चन्द्रकोट गाउँपालिका उपप्रमुख राधिका अर्यालसहित वडा अध्यक्ष र वडा सदस्य गरेर २६ जना एमालेका जनप्रतिनिधि रहेका छन् । मालिका गाउँपालिका प्रमुख रीतबहादुर थापा र उपप्रमुख देवा अर्यालसहित वडा अध्यक्ष र वडा सदस्य गरेर ३२ जना एमालेबाट निर्वाचित जनप्रतिनिधि छन् । रुरुक्षेत्र गाउँपालिकाका प्रमुख नीलकण्ठ गौतम र उपप्रमुख लक्ष्मी पन्थसहित वडा अध्यक्ष र सदस्य गरेर ४२ जना जनप्रतिनिधिहरू नेकपा एमालेका भएको निर्वाचन कार्यालयका सूचना अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै, छत्रकोट गाउँपालिकामा प्रमुख मधुकृष्ण पन्थ र उपप्रमुख नर्मदा भण्डारीसहित वडा अध्यक्ष र वडा सदस्य गरेर २० जना एमालेका जनप्रतिनिधि रहेका छन् । मदाने गाउँपालिकामा प्रमुख दानबहादुर केसी र उपप्रमुख सरिता खड्कासहित वडा अध्यक्ष र वडा सदस्य गरेर ३२ जना जनप्रतिनिधि एमालेका छन् । धुर्कोट गाउँपालिकामा तीन जना वडा अध्यक्षसहित १६ जना जनप्रतिनिधि एमालेका छन् भने सत्यवती गाउँपालिकामा उपप्रमुख सुवर्ण शाहीसहित वडा अध्यक्ष र सदस्य गरेर ३१ जना जनप्रतिनिधिहरू नेकपा एमालेबाट विजयी भएका थिए ।