जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार २३:५१

पोखराका एक सय बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश


पोखरा २२ भदौ । पोखरामा एकसय भन्दा बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश गरेका छन् । पोखराको लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका दर्जन बढी सहित एकसय १० जनाले पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा नेपाल हवाइ खेलकुद संघका (ना) पूर्व अध्यक्ष एवम् अठारौ एशियनका खेलका पदक विजेता पर्यटन व्यवसायी योगेश भट्टराई, पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र शर्मा, क्यान गण्डकीका कोषाध्यक्ष राजेन्द्र तिवारी, महिला संजाल बैदामका अध्यक्ष विष्णु केसी, टानका सचिव मिलन तिवारी, कोषाध्यक्ष किसमकुमारी गुरुङ, सहसचिव रेशम अधिकारी, पुर्व अन्तर्राष्टिय खेलाडी रामबहादुर ढकाललगायत विभिन्न संघ–संस्था र व्यवसायमा आवद्ध पर्यटन व्यवसायीहरुले पार्टी प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई पार्टी अध्यक्ष ओलीले अविर टिका र फुलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । पार्टी प्रवेश गरेका नाका अध्यक्ष भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पुरा गर्न तयार गरेका पुर्वाधार निर्माणका आधार, राष्ट्रिय स्वाधिनता पक्षमा गरेको निर्णय, श्रमिकका पक्षका गरेको योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता जस्ता न्यायिक निर्णयले गर्दा आफूले एमाले पार्टी रोजेको बताउनुभयो । त्यसैगरी क्यानका कोषाध्यक्ष तिवारीले नेकपा एमालेले बोकेका एजेण्डालाई पुरा गर्न तयार गरेका आधारहरुलाई लिएर आफुले पार्टी प्रवेश गरेको र यस पार्टीमा सक्रिय रहेर जनताका बहुदलीय जनवादको पक्षमा लाग्ने बताउनुभयो ।

प्रदेश सांसद राजीव पहारीले यति ठूलो संख्यामा नेकपा एमालेमा भएको प्रवेशले पार्टीमा नयाँ उत्साह थपेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राज्यको नीति निर्माणको तहमा अब पर्यटन क्षेत्रको पहुँच पुग्नेछ, यो प्रवेशले पोखरा र गण्डकी समग्र पर्यटनको निम्ति ठुलो टेवा पुग्ने छ ।’
पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री, प्रदेश सांसद पहारी, पार्टी केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्मा, गोविन्द नेपाली, नेकपा एमाले–कास्की अध्यक्ष कृष्ण थापालगायतको उपस्थिति रहेको थियो ।