जनता टाइम्स

२३ भाद्र २०७८, बुधबार ०८:२०

आज दर खाने तीजको अघिल्लो दिन


काठमाडौं, भदौ २३ । नेपाली हिन्दू महिलाको मुख्य पर्व तीजको अघिल्लो दिन आज, दर खाएर मनाइँदैछ । भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने प्रचलन छ । विभिन्न मीठा–मीठा परिकारका साथ चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

दर खाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने पछिल्लो समय एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ । त्यसैले दर खाने चलन बसेको बताइन्छ । चिकित्सकहरुले आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र ब्रत वस्न अनुरोध गरेका छन् । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार शास्त्रीय रुपमा तीजमा निराहार व्रत बस्ने विधान छैन । निरहार व्रत वस्ता स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने भन्दै चिकित्सकहरुले यस्तो बताएका हुन् ।