जनता टाइम्स

२४ भाद्र २०७८, बिहीबार ०८:०७

झुक्याएर समाजवादीमा सनाखत गराएकी निर्मला एमालेमै फर्किइन्


कपिलबस्तु, भदौ २४ । नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्ने कपिलबस्तु जिल्लाकी एक्लो जनप्रतिनिधि निर्मला सुनार एमालेमै फर्किनुभएको छ । मंगलवार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा (एस) मा सनाखत गरेकी निर्मलाले आफू बजार गएको बेला मौका छोपेर निर्वाचन कार्यालयमा पुर्‍याई जबरजस्ती सनाखत गराएको आरोप लगाउनुभएको छ ।

बुधवार विज्ञप्ति जारी गर्दै शिवराज नगरपालिकाका कार्यपालिका सदस्य निर्मलाले आफ्नो काममा तौलिहवा गएका बेला निर्वाचन कार्यालयमा काम छ भनी लगेको र परिबन्दमा पारेर केही कागजातमा हस्ताक्षर गराएको उल्लेख गर्नुभएको छ । ‘हिजो तौलिहवा कामको सिलसिलामा गएको थिए । दुई तीन जना साथीहरूले निर्वाचन आयोगमा जाम भनेर लगेर सनाखत गराउनु भयो । ५ बजे घर फर्किएपछि समाजवादीमा गएको हो भनेर फोन आयो । मिडिया र फेसबुकमा हेरे । म एमाले मै बस्छु,’ सुनारले भन्नुभयो ।

सुनारले मंगलवार नेकपा (एस) रोजेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो । यसैगरी शिवराज नगरपालिका–१० का अध्यक्ष मञ्जु मिश्रले जसपा छाडेर लोसपामा सनाखत गर्नुभएको छ । जनता समाजवादी पार्टीबाट उप निर्वाचनबाट विजयी भएका मिश्राका श्रीमान् महन्त ठाकुरतर्फ लागेपछि उहाँले पतिकै दल रोज्नुभएको हो । मिश्राका पति रबीदत्त मिश्र लोकतान्त्रिक समाजवादी पाटीका केन्द्रीय नेता हुनुहुन्छ ।