जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार ०९:३०

भोजपुरमा देखिएन एमाले बिभाजनको असर : तीन प्रतिशतभन्दा कम जनप्रतिनिधिको मात्रै माधवलाई साथ, समानान्तर अध्यक्षले नै हाने लात


भोजपुर, भदौ २५ । नेकपा एमाले विभाजनको असर भोजपुरमा निकै कम देखिएको छ । लामो समयदेखि माधव नेपाललाई साथ दिएका अधिकांश नेता एवं जनप्रतिनिधिले बिभाजनकारी प्रतिक्रियावादीको गोटी बनेको ठहरसहित एमालेमै रहने निर्णय लिएसँगै भोजपुरमा माधवको कन्तबिजोग भएको हो ।

भोजपुरमा २ नगरपालिकासहित ९ स्थानीय तह रहेको छ । गत २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका २१२ जना निर्वाचित भएका थिए । तीमध्ये ६ जनाले मात्र माधवको नेकपा एकीकृत समाजवादी रोजेका छन् । एमाले छाडेका भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख ईन्द्रावती राईले नेकपा एसमा सनाखत गर्नुभएको छ । ।

एकीकृत समाजवादी रोज्ने अन्य जनप्रतिनिधिहरूमा भोजपुर ७ नम्बर वडा सदस्य राधिका तामाङ र षडानन्द नगरपालिकाका वडा सदस्य विशाल राई हुनुहुन्छ । त्यस्तै षडानन्द नगर कार्यपालिका सदस्यद्वय सुमन राई र गोविन्द विक नेकपा एसमा लागेका छन् । भोजपुर एमाले बिभाजनका लागि न्वारानदेखिको बल लगाउँदै आउनु भएका नेकपा एसका प्रभावशाली युवा नेता राजेन्द्र राईको गृहजिल्ला हो । भोजपुर ‘क’ बाट प्रदेशसभामा निर्वाचित राईको गृहस्थल षडानन्द नगरपालिकाका जनप्रतिनिधिमा समेत एमाले विभाजनको असर नगण्य देखियो ।

संगठन विस्तार र युवा परिचालनमा अब्बल शरणकुमार राई, केन्द्रीय सदस्य हरिबहादुर राईलगायतका नेताले एमालेमै बस्ने निर्णय गरेपछि पार्टी विभाजनलाई साथ दिनेहरूको संख्या घटेको हो । शरण एमाले विवादमा माधवपक्षीय समानान्तर कमिटीका अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै संचारमन्त्री र प्रदेश १ का मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेर केन्द्रीय राजनीतिमा उचाइ बनाइसकेका शेरधन राईको प्रभावका कारण पनि जिल्लामा एमाले विभाजनले खासै असर नपरेको देखिएको हो ।

भोजपुर र षडानन्द नगरपालिका साथै साल्पासिलिछो गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो । षडानन्द नगरपालिका उपमेयर मेरिका राई र साल्पासिलिछो गाउँपालिका उपमेयर धनमाया राई एमालेमै रहनुभएको छ । यस्तै हतुवागढी गाउँपालिकाका दुवै पदमा एमाले विजयी भएको थियो । यहाँका प्रमुख प्रेमकुमार राई एमाले जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । उपप्रमुख चन्द्रमा राईको यसबीचमा निधन भएको छ । रामप्रसादराई र पौवादुङ्‍मा गाउँपालिकामा प्रमुख विजय राई र किरण राई एमालेमै रहनुभएको छ ।

आमचोक गाउँपालिकाका ४, हतुवागढी गाउँपालिकाका ५, रामप्रसादराई गाउँपालिकाका ५, टेम्केमैयुङ गाउँपालिकाका ७, साल्पासिलिछो गाउँपालिकाका २, पौवादुङ्मा गाउँपालिकाका १, भोजपुर नगरपालिकाका ५ र षडानन्द नगरपालिकाका ९ गरी जिल्लाभर एमालेले जितेका सबै ३८ वडाध्यक्ष पार्टी फुटमा सहभागी नहुनुभएको हो । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्का पनि एमालेमै रहनुभएको छ । यसअघि खडका माधवतिर हुनुहुन्थ्यो ।