जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार २२:३१

रोहितको उत्कृष्ट ब्याटिङ र सन्दीपको शानदार बलिङमा नेपाल विजयी


काठमाडौं, भदौ २५ । स्टार स्पीनर सन्दीप लामिछानेको ६ विकेट प्रेरित नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई १ सय ५१ रनले पराजित गरेको छ । नेपालको सशक्त बलिङसामु निरिह बनेको पिएनजीले २० ओभर पनि खेल्न नसकी पराजीत भएको हो ।

आज भएको खेलमा नेपालविरुद्ध २ सय ३४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा सीमित भयो । अल अमेरत क्रिकेट मैदानमा नेपलाकालागि शानदार बलिङ गरेका सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए । यस्तै, सुशन भारी, विक्रम शोब र सोमपाल कामीले १र१ विकेट लिए ।

पिएनजीका लागि लेगा सियाकाले १९ तथा चार्ल्स अमिनीले १६ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । त्रिदेशीस एकदिवसीय शृंखलाको तयारी स्वरुप खेलिएको पहिलो खेलमा मंगलबार नेपाल २ विकेटले विजयी भएको थियो भने यो दोस्रो खेल थियो । नेपालले ओमान र अमेरिकासँग सोमबारदेखि एकदिवसीय शृंखला खेल्ने छ ।