जनता टाइम्स

५ असार २०७६, बिहीबार १०:५७

प्रचण्डको घोषणा : ओली सरकार नै पाँच वर्ष चल्छ, अब गियर पनि बदल्छ


पोखरा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वकै सरकार पाँच वर्ष चल्ने बताउनु भएको छ । उहाले यही सरकार पाँच वर्ष टिक्ने र अब कामकारवाहीमा गियर बदल्ने स्पष्ट पार्नुभएको हो ।

पोखरामा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले सहमति भएको कुरा पहिला कै हो तर, त्यसमा केही शक्ति खेल्न खोजेको आरोप समेत लगाउनु भयो । आलोपालोका विषयमा उहाले भन्नुभयो, ‘त्यो बहस मैले भनेर शुरू भयो जस्तो गरी प्रचार गरियो, त्यो सत्य होइन । त्यसमा कोही न कोही खेल्न खोजेको जस्तो देखियो ।’

उहाले पार्टीभित्र पनि केही शक्तिहरु खेल्न खोजेको देखिएको बताउदै नेकपाको एकता कसैले तोड्न नसक्ने समेत स्पष्ट पार्नुभयो । ‘अहिले पनि राम्रैसंग छलफल गरिरहेका छौं, दुई धारमा रहेको यति ठूलो पार्टीलाई मिलाउने कुरा आफैँमा ऐतिहासिक हो । दुई तिहाइको महत्त्वलाई बुझेका छौं । सरकारलाई सफल बनाउने कुरा राष्ट्रको स्वाधीनताका लागि अनिवार्य शर्त हो,’ प्रचण्डको भनाई छ ।

उहाले मन्त्रीमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको जानकारी समेत दिनुभयो । बजेट सार्वजनिक भइसकेपछि सरकार केही न केही रुपमा पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको बताउदै भन्नुभयो,‘तर अहिले नै सरकार पुनर्गठन गरिहाल्ने भन्ने निर्णयमा हामी पुगिएको छैन, प्रधानमन्त्रीको चाहेको बेलामा हुन्छ ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भएको छलफलमा अब पार्टीको एकता प्रकृया जतिसक्दो छिटो टुंग्याउने बिषयमा कुराकानी भएको र शुक्रबार सचिवालयको बैठक डाकेर निर्णय गरिने बताउनु भयो ।

अध्यक्ष दाहालले पछिल्लो समयमा सरकारले ल्याएको विधेयका बारेमा जनस्तरबाट धेरै नै टिकाटिप्पणी भएकाले ती विधेयकहरु सच्याएर नै जानुपर्ने बताउनु भयो । उहाले संसदमा भइकसेका विधेयक संसदीय प्रकृयाबाट परिमार्जन गरेर जानुको विकल्प नभएको र आफूले प्रधानमन्त्रीसँग त्यही हिसाबले कुरा गरेको जानकारी पनि दिनुभयो ।

उहाँले एकअर्को प्रसंगमा विप्लव समूह राजनीतिक प्रक्रियामा आउनुको बिकल्प नरहेको धारणा राख्नुभयो ।