जनता टाइम्स

२७ भाद्र २०७८, आईतवार १५:५९

एमालेको अडान कायमै : १४ सांसदलाई कारबाही गरेको सूचना जारी नगरेसम्म संसद् चल्न दिँदैनौँ – नेम्वाङ


काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यथास्थितिमा प्रतिनिधिसभाको बैठक चल्न नसक्ने बताउनुभएको छ । आज बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यथास्थितिमा आफूहरूले संसद् बैठक चल्न नदिने चेतावनी दिनुभएको हो ।

एमालेका तत्कालीन माधवकुमार नेपालसहितका १४ जना सांसदमाथि कारबाही गरिएको सूचना सभामुख अग्निप्रसाद सापकोटाले जारी नगरेसम्म बैठक चल्न नदिने नेम्वाङको भनाइ छ । एमालेले आफ्ना सांसदमाथि कारबाही गरिएको पत्र पठाउँदा १३ दिनसम्म सभामुख सापकोटाले सूचना जारी नगरेको भन्दै उहाँले सभामुखले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग गर्नुभयो ।

‘एमालेको बैठक आफ्ना १४ जना सांसदमाथि कारबाही गरेर संसद् सचिवालयलाई जानकारी गराउँदा सभामुखले १३ दिनसम्म सूचना प्रकाशित गर्नुभएन’, नेम्वाङले भन्नुभयो, ‘निर्वाचन आयोगले दलको मान्यता दिएपछि सभामुखले अब आफूले केही गरिरहनु परेन भनेर कानुनी जिम्मेवारी पूरा गर्नुभएन । हामीले कानुनले तोकेको आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको हो ।’

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले गत बुधबार र शुक्रबार तथा आजको बैठकमा नाराबाजी गर्दै अवरोध पुर्याउका थिए ।