जनता टाइम्स

२७ भाद्र २०७८, आईतवार १८:४७

विभाजनपछि दोलखा एमालेमा देखियो झनै उत्साह


काठमाडौं, भदौ २७ । नेकपा एमाले दोलखामा भने विभाजनपछि थप उत्साह देखिएको छ । पार्टी विभाजनपछि (नेकपा) एमालेलाई ठूलो क्षति पुग्ने आँकलन भइरहेका बेला दोलखामा भने विभाजनको असर पार्टीमा रत्तिभर नपरेको सन्देश बाहिर आएको हो । एमालेका तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालले कुनै ठोस एजेण्डा विना नै पार्टी विभाजन गरेपछि पनि दोलखा एमालेमा त्यसले कुनै क्षति नपुर्याएको सन्देश शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमले दिएको हो ।

नेकपा (एमाले) दोलखा–काठमाडौं सम्पर्क मञ्चले तीनकुनेस्थित रोयल बैंकेटमा आयोजना गरेको ‘वृहत् प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम’मा नेता, कार्यकर्ता र सुभेच्छुकहरूको उत्साहपूर्ण सहभागिताले पार्टी विभाजनबाट एमालेलाई क्षति भन्दा थप उत्साह र हौसला प्राप्त भएको स्पष्ट संकेत गरेको हो । त्यसो त सोही कार्यक्रमका प्रमुख अतिथि एवम् पार्टी महासचिव ईश्वर पोखरेलले माधव नेपालले गरेको पार्टी विभाजनबाट एमालेलाई ९ प्रतिशतमात्रै क्षति पुगेको तथ्य प्रस्तुत गर्नुभएको छ ।

एमालेले हाल चलाएको पार्टी संगठनको अभियानबाट उक्त अवस्थालाई २ प्रतिशतमा झार्ने उहाँले बताउनुभयो । उक्त अवस्थामा नेकपा एमाले कमजोर नभइ थप सवल भएर जाने महासचिव पोखरेलले विश्वास व्यक्त गर्नुभएको छ । पार्टी एक रहँदाको अवस्थामा पनि कयौंपटक सामान्य रूपमा कार्यक्रम आयोजना गरिएको उक्त हलमा हिजोको कार्यक्रममा भने उपस्थितहरूले उभिएर बस्ने स्थानसम्म नपाएको सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीले बताउनुभयो ।

‘हामीले रोयल बैंकेटको यो हलमा सम्पर्क मञ्चका थुप्रै कार्यक्रम आयोजना गरिसकेका छौं । पार्टी सग्लो अवस्थामा रहँदा हलभरी अटुञ्जेल मात्रै उपस्थिति रहँदै आएको थियो,’ अध्यक्ष शिवाकोटीले भन्नुभयो, ‘सोही अनुरूप योजना बनाएर प्रक्षिण कार्यक्रम तय गरियो । त्यससँगै पार्टीमा आएको आंशिक विभाजनलाई पनि हामीले दृष्टिगत गरेका थियौं, तर आज उपस्थिति हेर्दा हामी आयोजक नै छक्क परेका छौं ।’

‘केही दिनयता घमाइलो बनेको मौसमसँगै काठमाडौंमा बढेको गर्मी, कोरोना भाइरसको विद्यमान महामारीलगायत अवस्थालाई हेर्ने हो भने आज हामी आयोजकले उपस्थित नेता कार्यकर्ता तथा एमालेका सुभचिन्तकहरूप्रति साँच्चै माफी माग्नुपर्ने अवस्था बन्यो,’ उहाँले थप्नुभयो, ‘सम्पर्क मञ्चको नेतृत्वको हिसाबबाट म माफी चाहान्छु, विद्यमान महामारीका बेला केही हदसम्म भौतिक दूरी कायम गरी कार्यक्रम सञ्चालन गर्ने हाम्रो तयारी थियो, तर नेकपा एमालेप्रति जुन विश्वास र माया प्रकट गरेर उहाँहरू आउनुभएको छ, उहाँहरूको सहज व्यवस्थापन हुन नसकेकोप्रति हामी क्षमा चाहान्छौं ।’

९ वटा पालिका र ७४ वटै वडाको सम्पर्क मञ्च गठन

यसैबीच दोलखा–काठमाडौं सम्पर्क मञ्चले जिल्लाका दुई वटा नगरपालिका, ७ वटा गाउँपालिका र पालिका मातहतका ७४ वटै वडा सम्पर्क मञ्चहरू भव्य रूपमा गठन गरेको मञ्चका सह–सचिव शेखर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नगर तथा गाउँपालिका र वडाहरूले समेत छुट्टा–छुट्टै भेला तथा अधिवेशन आयोजना गरी मञ्चहरू पुनर्गठन गरिएको हो ।

पुर्नगठित सबै कमिटीका पदाधिकारीसहितको कार्यसमितिलाई सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमका अवसरमा संयुक्त रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको हो । मञ्चले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा १ हजार ४०० जना भन्दा बढीको उपस्थिति रहेको सह–सचिव बस्नेतको भनाइ छ ।