काठमाडौं, २८ भदौ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाउनुभएको छ । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाउनुभएको हो । पार्टीको १४औँ महाधिवेशन कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा देउवाले शक्तिको दुरुपयोग गरेको नेता पौडेलको भनाइ छ ।
सत्ता र शक्तिको दुरुपयोगबाट सम्पन्न भएका केही वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनी दिँदै नेता पौडेलले भन्नुभयो, ‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ। धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरूपयोग गर्न कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। यसलाई मान्दैनौं।’ क्रियाशील सदस्यता छानबिन गर्ने कार्यमासमेत देउवाले धाँधली गरेको उहाँको आरोप छ । उहाँले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने पनि बताउनुभयो ।
उहाँले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव गर्दा लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने वचन दिएको जानकारी गराउनुभयो । ‘नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, मैले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पछिल्लो आन्दोलन गृह जिल्ला तनहुँस्थित दमौली पुलबाट शुरु गरेको छु, लोकतान्त्रीकरण नभएसम्म यो अभियान जारी रहन्छ’, उहाँले भन्नुभयो ।
पार्टीलाई अझै लोकतान्त्रीकरण गर्ने अभियानमा आफू लागेको उल्लेख गर्दै उहाँले आन्तरिक लोकतन्त्र फस्टाउन कमजोर पार्टीको बलियो नेता हुने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताउनुभयो । कमजोर पार्टीको बलियो नेता भए तानाशाह जन्मने भएकाले यसमा कार्यकर्ता पनि चनाखो हुनुपर्नेमा नेता पौडेलको जोड थियो । ‘पार्टीको १४ औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको छ, दादागिरी गरेर निष्ठावान् कार्यकर्तालाई पन्छाउन खोजिएको छ, डडेल्धुरामा पार्टी जिल्ला समितिलाई एकातिर राखेर प्रहरी प्रशासनको बलमा वडा अधिवेशन गरिएको छ, यो पार्टीका लागि दुर्भाग्य नबनोस्’, उहाँले भन्नुभयो ।
त्यस्तै आगामी महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गरेर रुपान्तरण गर्न नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने नेता पौडेलले बताउनुभयो । कार्यक्रममा सिन्धुपाल्चोक काँग्रेसका उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, नेता देवप्रसाद बानियाँलगायतले पार्टीको लोकतान्त्रीकरण गर्न १४ औँ महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्