जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १८:०६

एमाले सहभागी हुनेगरी मात्रै बैठक राख्न सभामुखलाई सुझाव


काठमाडौं, भदौ २८ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालबाहेकका सवै दलले प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी हुने गरी मात्रै बैठक राख्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिनुभएको छ ।

सभामुख सापकोटाले संबिधानलाई च्यातेर सभामुखको अधिकार दुरुपयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले आजको बैठक बहिस्कार गरेपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरूले एमालेलाई सहभागी गराउन सभामुखलाई सुझाव दिएका हुन । प्रचण्ड र माधवले भने संबिधान कानून भन्दा सवै कुरा छाडेर एमालेबिनै निरन्तर संसद चलाउनु पर्ने बताउनु भएको छ । तर कांग्रेस सहितका अन्य दलले माधव र प्रचण्डको कुरा सुनेर सभामुखको गरिमा र संदकै हैसियत समाप्त पार्न नहुनेमा उभिएको हो ।

‘आजको बैठकमा एमाले सहभागी भएन । यसकारण बैठक निष्कर्षविहीन भयो’, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले भन्नुभयो, ‘अब एमालेलाई सहभागी हुनेगरी सर्वदलीय बैठक राख्न हामीहरूले सभामुखलाई सुझाव दियौँ ।’ सभामुख कानूनअनुसा नचलेपछि प्रमुख प्रतिपक्षी दल एमालेले बाध्य भएर प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अवरोध सिर्जना गरिरहेको छ । गत बुधबार, शुक्रबार र आइतबार तीन दिनका प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजीले अवरोध सिर्जना भएको थियो ।

सदनमा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले आज सर्वदलीय बैठक बोलाइएको थियो । तर एमालेले कानूनअनुसार पहिला सूचना टाँस वा पदबाट राजीनामा दिनुपर्ने बिकल्प दिएको छ ।