जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार १३:०५

गरिवीको पीडा : सुत्ने कोठा नभएपछि छोरी अन्माउने चटारो


सुधा देव, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका हाटी ७ की सीतादेवी सदालाई १६ वर्षिया छोरीको विवाह गर्न हतार भएको छ । सन्तानको नाममा तीन छोरी रहेको सदाले छोरीको विवाह गर्न हतार गर्न खोज्नुको कारण घरमा रहेको एउटामात्र कोठा रहेको छ । छोरीलाई पढाउने धोको पूरा गर्न घरको समस्याले सीतालाई दिएन । ‘मेरो छोरी यसैपाली एसईई पास गरेकोले उच्च शिक्षा दिने धोको थियो । घरकै समस्याको कारणले त्यसो हुन सकेन’, उहाँले भन्नुभयो ।

ऐलानी जग्गामा भएको सानो घरमा तीनवटा कोठा छ । सीता आफैँका चार जेठानी देउरानी छन् । उहाँको सासुससुराको बस्ने घरमा दुई कोठा छ । एउटा कोठामा सासुससुरा र अर्को कोठामा साहिँलो देवर र उहाँका परिवार बस्दै आएका छन् । सीता बसेको तीनकोठे घरमा माहिलो र कान्छो देवरको परिवार पनि बस्दै आएका छन् ।

एउटै घरमा धेरैजना बस्नुपर्ने बाध्यताले गर्दा सीतालाई हुर्किन थालेका छोरीको विवाह गर्ने हतार भएको छ । ‘१२, १४ र १६ वर्षीया तीन छोरी छन् । सबै तन्नेरी हुनलागेका छन्। एउटै कोठामा तीन छोरी र हामी श्रीमान् श्रीमतीसहित पाँचजनाको गुजारा गर्न समस्या छ’, सीताले भन्नुभयो । किशोरावस्थामा पुगेका छोरीहरूसहित सबैजना एउटै कोठामा कसरी सुत्छन् भन्दै छिमेकीले कुरा काट्न थालेपछि सीता छोरीहरूको विवाहका लागि केटा खोज्न बाध्य भएकी उहाँका छिमेकी करियादेवी सदाले बताउनु भयो ।

सीताकी जेठी छोरी एसईई उत्तीर्ण हुनुहुन्छ भने माइली कक्षा १० र कान्छी कक्षा सातमा अध्ययनरत छन् । तर, दिदीको अध्ययन गर्ने इच्छा अधुरो रहने भयो, सीताकी माहिली छोरी पार्वतीले भन्नुभयो, ‘अब त हामीले पनि पढ्न नपाउने भयौँ ।

कक्षा १० सम्म पढाइ खर्च त्यति नलाग्ने भए पनि घरमा सुत्नका लागि कोठाको व्यवस्था नहुँदा अध्ययन बीचमै छाड्नुपर्ने अवस्थाले सीताका छोरी पिरोल्लिएका छन् । ‘हाम्रो समुदायमा छोराछोरी पढाउन त्यति ध्यान दिँदैनन् । हाम्रो आमाबाबु विपन्न भएपनि छोरीहरूलाई पढाएर योग्य बनाउनुपर्छ भन्ने भावना छ। कक्षा १० सम्म पढ्न कापी कलमबाहेक त्यति खर्च लागेन । अब बढी खर्च लाग्छ । घरमा अर्को कोठा पनि छैन’, पार्वतीले भन्नुभयो ।

उहाँहरूको जग्गा जमिन छैन । बाबुले मजदुरी गरेर पाँचजनाको परिवार पाल्दै आएका छन् । सोही वडाका वडाध्यक्ष प्रमिला यादवका अनुसार यस वडाका मुसहर समुदाय विपन्न भएपनि धेरैको छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोचको विकास भएको छ । तर, गरिबीको कारण सक्ने अवस्था छैन । सहयोग गर्न सक्ने हामीले गर्दै आएका छौँ । घरको समस्या यहाँको धेरैलाई भएकोले समस्या समाधान गर्न कठिनाइ भएको उहाँ बताउनु हुन्छ । न्यूज कारखाना