जनता टाइम्स

३० भाद्र २०७८, बुधबार १४:३१

एमाले विधान महाधिवेशनको लोगो सार्वजनिक, तीन हजार प्रतिनिधिको पनि टुंगो लाग्यो


काठमाडौं, भदौ ३० ।नेकपा एमालेले विधान महाधिवेशनको लोगो सार्जजनिक गरेको छ । आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । सो बिधान महाधिवेशनका लागि एमालेले आज दिउँसो सामाजिक सञ्जालमार्फत लोगो सार्वजनिक गरेको हो ।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो । विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यसहित ३ हजार प्रतिनिधि रहने टुंगो एमालेले लगाएको हो । जस्मा अनुशासन आयोगका पदाधिकारी र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ सदस्य प्रतिनिधि रहनेछन ।

यसैगरी सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य, विशेष कमिटी र जिल्ला कमिटीका पदाधिकारी पनि प्रतिनिधि हुनेछन । यस्तै निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख प्रतिनिधि रहनेछन भने एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत गरिनेछ ।