जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार ०८:३१

निजामती कर्मचारीको राष्ट्रिय भेला असोज २ गते : माधवले पार्टीमा कर्मचारीलाई बन्देज गरेपछि संगठनलाई फाइदा


काठमाडौं, भदौ ३१ । निजामती कर्मचारी संगठनको राष्ट्रिय भेला आगामी असोज २ गते हुने भएको छ । माधव नेपालको पार्टीले कर्मचारी र शिक्षकलाई सदस्यता नदिने घोषणा गरेको केही समयपछि नै एमाले निकट कर्मचारी संगठनले भेला आयोजना गरेको हो । नेकपा एकिकृत समाजवादीतिर लाग्ने बाटो पार्टीले बन्द गरिदिएपछि नेपाल निकट भनिएका कर्मचारी पनि एमालेमै रहने भएका छन ।

संगठनका अध्यक्ष केदार देवकोटाले संगठन निकट पत्रकारहरुसँग आफ्नो संगठनमा ९० प्रतिशत भन्दा बढी कर्मचारी रहेको दाबी गर्नुभएको छ । ‘पार्टीको टुटफूटले कर्मचारी संगठनलाई केही असर गरेको छैन’ देवकोटाले भन्नुभयो ‘विगत देखि नै संगठनको गरिमा घटाउन उद्यत केही साथीहरु पदीय मर्यादामा बस्नु भएको छैन। त्यसको हिसाब हामीले गरेका छौं ।’

संगठनको एक पक्षले असोज २ गतेको केन्द्रीय कमिटी बैठक र राष्ट्रिय भेला रोक्न संस्थापनसँग माग गरेको छ । तर संगठनका बैठक,भेला रोकेर बन्धक बनाउन नसकिने जवाफ संस्थापनले दिएको छ । ‘गतिशिल संगठनका बैठक र भेला रोकौं भन्ने कुरा कदापी मान्य हुदैनन् ’ बरिष्ठ उपाधक्ष्य लेखनाथ कोइरालले भन्नुभयो ‘३३ हजार सदस्य भएको कर्मचारी संगठन डेढ बर्ष देखि न बैठक न भेला । सुस्ताएर बसेको संगठन अब चलायमान हुन्छ । सबै कर्मचारी साथीहरुलाई कर्मचारीको मुल प्रवाहको रुपमा रहेको संगठनबाट दायाँवायाँ नगर्न आग्रह गर्दछौं ।’

संगठनका उपाधक्ष्य भवानी दाहालले असोज २ को भेला रोकिने भन्दा पनि कसरी हुन्छ देशभरीबाट ठूलो संख्यामा कर्मचारी जुटाउने तयारी भइरहेको बताउनुभयो । भेलामा कम्तीमा १ हजार निजामती कर्मचारी उतार्ने संगठनको लक्ष्य छ । दाहालका अनुसार भेलाको प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनहुन्छ । विशिष्ट अतिथीहरुमा महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा,टोपबहादुर रायमाझी र शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।