जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार १८:५०

माधव नेपालतिर लाग्नेहरु सकिन्छन, एमाले झन बलियो बनेर अघि बढछ : भीम रावल (भिडियोसहित)


अछाम, भदौ ३१ । एमाले उपाध्यक्ष डा. भीम रावलले माधवकुमार नेपालको पछि लाग्नेहरु सकिने घोषणा गर्नुभएको छ । गृहजिल्ला अछाममा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष रावलले माधवले आफ्नो ब्यक्तिगत स्वार्थका लागि पार्टी फुटाएर गएकोले केही समयपछि नै समाप्त हुने ठोकुवा गर्नुभएको हो ।

‘माधव नेपालले आफ्नो स्वार्थ पूरा गर्न पार्टी फोडेर जानुभयो, हामीले रोक्न खोज्यौं तर उहाँ नयाँ पार्टी खोलेर कांग्रेससँग सति जानुभयो, रावलले भन्नुभयो, एमाले कमजोर बनाउने र कांग्रेस बलियो बनाउने भनेर उहाँहरु जानुभयो,’ रावलले भन्नुभयो, ‘एमालेमा अवसर पाइसकेका स्वार्थी झुण्डहरु मात्रै नयाँ पार्टीमा गएकोले त्यता लाग्नेहरु सकिन्छन, एमाले झन बलियो बनेर अघि बढनेछ ।’ रावलले माधव नेपालसहितका एमाले छाडने नेताहरुलाई कामरेड भन्न नमिल्ने भन्दै पूर्व कामरेड बनेको बताउनु भयो ।

उहाँले कम्युनिष्ट नरहने निर्णयसहित नेपाली कांग्रेस नेतृत्वको सरकारमा अवसर लिन गएकोले एमाले छाडनेहरुलाई कामरेड भन्न नमिल्ने तर्क गर्नुभयो । माधवले कोनी कुन पार्टी खोलेका छन रे, भ्रममा पारेर त्यतातिर लागेका छन भने सम्झाएर मुलघरमा बोलाउनोस, तर पार्टी छाडनका लागि नेतृत्व गर्नेहरुलाई त्यतै बस्न दिनोस, तिनलाई ल्याएर एमालेलाई फोहोर बनाउन जरुरी छैन, तिनीहरु कामरेड होइनन, पूर्व कामरेड हुन, झण्डै पौने घण्टा लामो सम्बोधनको क्रममा रावलले भन्नुभयो ।

उहाँले माधव नेपाल र सो समुहतिर ९ प्रतिशत स्थानीय जनप्रतिनिधि मात्र लागेको कारण रन्थनिएर अनेकन अफवाह फैलाउन लागेको भन्दै माधवले लिने जति सवै लिएर एमालेबाट छाडेर हिडेको तथ्य बुँदागत रुपमा राख्नुभयो । माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई निशर्त रुपमा बिश्वासको मत दिएको भन्दै रावलले माधवको बिधि पद्धती र सामुहिक निर्णयको रटान देखाउने दाँत मात्रै भएको तथ्य राख्नुभयो ।

प्रधानमन्त्री देउवाले बिश्वासको मत लिने दिन अत्यन्तै गोप्य र ब्यक्तिगत रुपमा माधवले काम गरेको उहाँले बताउनु भयो । भन्नलाई बिधि पद्धती र सामुहिक निर्णय भन्ने, गर्नलाई एक्लै गर्ने काम माधवको चरित्र देखियो, देउवालाई यसै गरी बिश्वासको मत दिनुभयो, रावलले भन्नुभयो ।