जनता टाइम्स

१ आश्विन २०७८, शुक्रबार ००:००

सत्तारुढ गठबन्धनमा चर्काचर्की, सवै दलले मालदार मन्त्रालय रोजेपछि जुटन सकेन सहमति


काठमाडौं, असोज १ । सत्रारुढ गठबन्धनबीच मन्त्रालय भागबण्डामा चर्काे बिवाद रहेको तथ्य बाहिर आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सत्तारुढ गठबन्धनमा रहेका सवै दलले मालदार मन्त्रालयमा दावी गरेपछि सत्तारुढ दलबीचको बिवाद सतहमा आएको हो ।

सरकार गठन भएको दुई महिना बितिसक्दासमेत सत्तारुढ गठबन्धनबीच मन्त्रिपरिषद विस्तारमा सहमति जुटन सकेको छैन । सर्वाेच्च अदालतको परमादेशअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठनको दुई महिनासम्म मन्त्रालयको भागबण्डा नमिल्दा ६ सदस्यीय मन्त्रीमण्डलमै सिमित हुनुपरेको छ । मन्त्रिपरिषद टुंगो लगाउन आज बसेको बैठकमा पनि बिवादका कारण सहमति हुन नसकेको नेपाली कांग्रेसका एक नेताले जनताटाइम्सलाई बताए ।

बैठकमा नेताहरुले आफ्नै आफ्नै दाबी प्रस्तुत गरेपछि भागवण्डा टुंग्याउन कार्यदललाई जिम्मा दिइएको छ । बैठकमा सहभागी अर्का नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार दुई महिनाको अवधीमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको अनुमान गरिए पनि छलफलै नभए जसरी प्रस्तुत हुनुभएको छ । प्रचण्डले छलफल नै नभए जसरी प्रस्तुत हुनुभयो, प्रधानमन्त्री पनि जंगिनुभयो, ती नेताले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वाेच्चको परमादेशबाट बिस्थापित गरी सत्तामा पुगेको गठबन्धन बैठकमा आज चर्काचर्की परेको छ । आजको बैठकमा मन्त्रिपरिषद विस्तार नहुँदा आम जनतामा निराशा छाएको, गठनबन्धनको औचित्य पुष्टी हुन नसकेको लगायतका विषयमा छलफल भएको छ । बैठकमा माधव नेपाल र उपेन्द्र यादवले आफ्नो पार्टी बिभाजन हुनसक्ने भन्दै पार्टी फुटाउने अध्यादेश जतिसक्दो चाँडो निस्क्रिय पार्न प्रधानमन्त्री देउवालाई दवाव दिनुभएको छ ।