जनता टाइम्स

१ आश्विन २०७८, शुक्रबार ०८:५१

व्यवस्था नै असफल भइसकेको निश्कर्षमा किन पुगे प्रभु साह ?


लहान, असोज १ । पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको निश्कर्षमा पुग्नुभएको छ । लहानमा आयोजित आईटी आर्मीको सिरहा भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान व्यवस्था पूर्ण रूपमा विकृत रहेको र असफल भई देशमा अस्थिरता निम्त्याएको बताउनु भएको हो ।

उहाँले संविधान निर्माण जस्तो कार्य पनि भागबण्डाको आधारमा गरी संसारमा काहीँ नभएको प्रावधान संविधानमा राखेर देशलाई बन्धक बनाएको बताउनुभयो । असफल व्यवस्थाकै नतिजा स्वरूप आज देशमा विद्यमान राजनीतिक किचलो झनै बढेको उहाँको तर्क छ ।

नेपालको सन्दर्भमा कुनै पनि हिसाबले उपयुक्त हुन नसक्ने व्यवस्था संविधानमा समेटेर दलहरूले आफ्नो निहित स्वार्थ पूरा मात्र गरेको साहको आरोप छ । यसले देशलाई ठूलो क्षति पुगेको उहाँले बताउनु भयो । ठूलठूला देशहरूमा ५०र६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत नियतले सयौँ सरकार जन्माइएको टिप्पणी पनि गर्नुभयो ।

उहाँले संसारमा कहीँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाँट नेपालमा मात्र रहेको, अरू देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्था नेपालमा मात्र रहेकाले देशलाई खोक्रो बनाउने कार्य भइरहेको आरोप पनि लगाउनु भयो ।