जनता टाइम्स

२ आश्विन २०७८, शनिबार १४:५२

रित्तियो माओवादी निकट कर्मचारी संगठन, केन्द्रीय कमिटीका बहुमत सदस्य एमालेमा समाहित


काठमाडौं, असोज २ । नेकपा माओवादी केन्द्र निकट कर्मचारी संगठनको केन्द्रीय समितिका बहुमत सदस्य एमाले प्रवेश गरेका छन । पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको माओवादी पार्टीबाट मुलुकको हितमा कुनै काम नहुने प्रमाणित भएको भन्दै केन्द्रीय समितिका १९९ मध्ये १०० कर्मचारी आज नेकपा एमालेमा प्रवेश गरेका हुन ।

आज काठमाडौंमा आयोजित भेलामा नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमलाको नेतृत्वमा बहुमत केन्द्रीय कमिटी नेकपा एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनमा प्रवेश गर्नुभयो । नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलामा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन समाहित भएको हो । नवआगन्तुकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल, शंखर पोखरेल, महेश बस्नेतलगायतका नेताहरुले स्वागत गर्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमला र महासचिव प्रभातप्रसाद साहसहित केन्द्रीय कमिटीका एक सय भन्दा बढी नेपाल निजामति कर्मचारी संठनमा समाहित भएका कर्मचारी नेताहरू आजैबाट सुरू भएको राष्ट्रिय भेलामा सहभागी हुनुभएको छ । आयोजकका अनुसार देशभरका जिल्ला कमिटीबाट पदाधिकारी तथा सदस्यहरु पनि एमालेमा प्रवेश गर्नुभएको छ ।