जनता टाइम्स

५ असार २०७६, बिहीबार १७:००

सुनको भाउले नयाँ रेकर्ड राख्यो, अझै बढ्ने संकेत


काठमाडौं ।

विवाहको सिजन नजिकिएसगै सुनको मूल्यपनि आकासिएको छ । सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला सुनको मूल्य ६४ हजार निर्धारण गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेको छ । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार ६४ हजार निर्धारण गरेका छौँ,’ महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘यो मूल्य अहिलेसम्मकै रेकर्ड हो ।’महासंघका अनुसार बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १३४४ डलरमा कारोबार भएको थियो ।

बिहीबार बढेर १३ सय ८० डलर पुगेको छ । जानकारका अनुसार चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको छ । इरान र अमेरिकाबीच भएको तनावले पनि लगानीकर्ताहरू सुरक्षित स्थान खोज्न थालेका छन् । जसले गर्दा भाउ बढेको महासंघको दाबी छ ।