जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १६:२४

महोत्तरीमा आर्केस्ट्रा देखाउँदा झडप, एकजनाको मृत्यु, दुई घाइते


विशाल बस्नेत / महोत्तरी, ३ असोज । आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झडप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वडा नम्बर २ का रामप्रसाद यादव रहेको पालिकाका अध्यक्ष रामकुमार यादवले जानकारी दिनुभयो ।

अध्यक्ष यादवका अनुसार आर्केस्ट्रा नृत्य वडा नम्बर ७ स्थित मुसहर बस्तीमा भएको थियो । मुसहर समुदायका युवा र मृतक रामप्रसाद पक्षमा राति नै झगडा भएको र पुनः बिहान झगडा हुँदा यादवको ज्यान गएको हो । झडपमा मृतक यादवका दुई छोरा गम्भीर घाइते भएका छन् ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । बर्षेनि विश्वकर्मा पूजाको अवसरमा आर्केस्ट्रा नृत्यकै कारण दुर्घटना निम्तिरहेको गुनासो बढ्दै आएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत आर्केस्ट्रा नृत्य रोक्ने भन्दै सजगता अपनाएको थियो । नृत्यकै लागि भारतबाट आएका तीन दर्जन कलाकारलाई प्रहरीले बाटैबाट फर्काएको थियो ।

स्थानीयले भने प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै उक्त अश्लील नृत्यलाई जारी नै राखेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । घटनाको संलग्न भएको आसङकामा स्थानीय दुईजना युवालाई प्रहरिले नियन्त्रणमा लिएको छ । दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । न्युज कारखाना