जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १७:५३

एमाले भन्दा हामी बलियो छौं, अरुको कुरा नसुन्नोस : माधव नेपाल


पोखरा, असोज ३ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले भन्दा आफ्नो दल बलियो रहेको भन्दै कसैको कुरा नसुन्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

दल बिभाजनका लागि २० प्रतिशतको प्रावधान राखेर नयाँ पार्टी गठन गर्नुभएका नेपालले संविधान दिवसका अवसरमा आज पोखरामा आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सातै प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी बलियो रहेको दावी गर्नुभयो ।

‘सुदूरपश्चिममा एक नम्बर पार्टी भएका छौं । दुई नम्बर प्रदेशमा केपी ओलीको पार्टीलाई पछाडि धकेलेर हामी अघि उभिएका छौं । कर्णाली प्रदेशमा टक्कर दिएर धूलो चटाइदिएका छौं, ‘१ र ३ (वाग्मती) प्रदेशमा एक हप्ताभित्र केपी ओलीको सरकारलाई हटाएर हामी सरकारमा जाने बारेमा सोचिरहेका छौं । यो पार्टीमा ९ प्रतिशत छ, ५ प्रतिशत छ भनेर झूटा प्रचार कसैले गर्छ भने त्यसलाई नपत्याउनुस्,’ नेपालले भन्नुभयो ।

उहाँले गण्डकी प्रदेशमा भने आफू पक्षधर नेता कार्यकर्तालाई विगतमा टिकटबाट बञ्चित गराएर माथि उठ्नै नदिइएको कारण कमजोर रहेको बताउनु भयो ।