जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १८:४९

एमाले विधान : अध्यक्षसहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव, ७० वर्ष उमेर हद यथावत


काठमाडौं, असोज ३ । नेकपा एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था प्रस्ताव गरेको छ । आज बसेको स्थायी कमिटी बैठकमा संगठन विभागले प्रस्ताव गरेको विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको हो ।

यसअघि अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय सदस्यहरुबाट अध्यक्षले मनोनित गर्ने प्रस्ताव गरिएको थियो । त्यसको पार्टीभित्रै आलोचना भएपछि संगठन विभागले पूर्ववत व्यवस्थालाई निरन्तरता दिने गरी प्रस्तावित बिधान छापेर आजको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको हो ।

त्यसैगरी कार्यकारी पदमा निर्वाचित हुनका लागि ७० वर्षे उमेर हदको व्यवस्थालाई पनि प्रस्तावमा यथावत राखिएको छ । बिधानमा केन्द्रीय कमिटी २२५ सदस्यीय रहने प्रस्ताव गरिएको छ ।

छलफलका क्रममा के के कुरा आए, त्यतातिर नजाऔं, छापिएर आएको बिधान संशोधन प्रस्तावमा अध्यक्षसहित सवै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने ब्यवस्था गरिएको छ, बैठकपछि स्थायी कमिटीका एक सदस्यले जनताटाइम्ससँग भने । ती नेताका अनुसार संशोधन प्रस्तावलाई सवैले सकारात्मक रुपमा लिएका छन ।