जनता टाइम्स

४ आश्विन २०७८, सोमबार १२:०७

संखुवासभा हत्याकाण्डको नयाँ तथ्य खुल्यो, आरोपितका भाइ र बुवासहित अन्य दुई जना पक्राउ


काठमाडौं, असोज ४ । संखुवासभामा भएको सामूहिक हत्याकाण्डको नयाँ तथ्य बाहिर आएको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा आरोपितका भाई र बुवाहित थप चार जनालाई पक्राउ गरेपछि नयाँ तथ्य बाहिर आएको हो । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीको बयानका आधारमा थप चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र १८ वर्षीय नरेश कार्की छन्। चार जनामध्ये लोकबहादुरका भाइ नरेश र बुवा खड्गबहादुर हुन्। यसअघि प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई मुख्य आरोपित भनी सार्वजनिक गरेको थियो।तर, अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिको पनि संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार घटनास्थलमा कसैले समातेको, कसैले हिर्काएको, कसैले मुख थुनेको साबिती बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । लोकबहादुरको घरमा हत्या गरिएकीमध्ये बुहारी रञ्जना कार्कीको मोबाइल बरामद भएसँगै नरेश पक्राउ परेका थिए।

नरेशसमेतको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भदौ २१ गते तेजबहादुर कार्की, उनकी आमा पार्वता कार्की, श्रीमती कमला, बुहारी रञ्जना कार्की, नाति विपीन कार्की र गोमा कार्कीको सामुहिक हत्या भएको थियो ।